दमक/ बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको अध्यक्ष पदबाहेक सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । संघको पूर्व निर्धारित निर्वाचन कार्यक्रम अन्तर्गत आज (सोमबार) गरिएको मनोनयनमा अध्यक्ष बाहेकका सबै पदमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हो ।
निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष यामकुमार चुँडाल (विर्तामोड), महिला उपाध्यक्ष सुशीला रिजाल (मेनपा), सचिव विनोदकुमार ढकाल (शिवसताक्षी) , सदस्यहरुमा हिमालय प्रकाश लिम्बु (विर्तामोड), महेश घिमिरे (दमक), मित्रलाल खनाल (कचनकवल), उमाकान्त आचार्य (दमक) र संगीता कोईराला (शिवसताक्षी) रहेका छन् । त्यसैगरी लेखा समिति संयोजकमा जगन्नाथ भट्टराई (मेनपा), सदस्यहरुमा गायत्रीप्रसाद मैनाली र डिल्लीराम ढकाल (भद्रपुर) चुनिएका छन् ।
संघको अध्यक्षमा भने युवराज गिरी (विर्तामोड) र उपेन्द्र प्रसाद ओली (विर्तामोड) को उम्मेदवारी परेको छ । अध्यक्ष एकका लागि दुईको उम्मेदवारी परेपछि सो पदमा भने तत्काल कसैलाई निर्विरोध घोषणा गर्ने सम्भावना रहेको छैन । यद्यपी निर्वाचन कार्यक्रम अनुसार माघ ९ गते बिहान ११ बजे सम्म उम्मेदवारी अर्थात मनोनयन फिर्ताको समय तोकिएको छ । सो समय भित्र उम्मेदवारी फिर्ता नभएमा माघ १० गते अध्यक्ष पदका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।