दमक/ दमक बहुमुखी क्याम्पसका मुख्य जग्गादाता स्वर्गीय सुवेदार डम्वरबहादुर अधिकारीको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली तथा स्मरण कार्यक्रम सम्पन्न भएको छ । साथै, छात्रा विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै व्यवस्था गरिएको छात्रावासको औपचारिक शुभारम्भ गरिएको छ ।
आज शुक्रबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री ढुण्डीराज भण्डारीको अध्यक्षता तथा दमक नगरपालिकाका नगर प्रमुख श्री रामकुमार थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी, विद्यार्थी, स्व. अधिकारीका परिवारजन तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली कार्यक्रममा स्व. अधिकारीले दमकको विकास र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरिएको थियो ।
क्याम्पस प्रमुख यज्ञराज गिरिले स्व. सुवेदार डम्वरबहादुर अधिकारीले शिक्षा क्षेत्रको विकासका लागि गरेको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनको त्याग र सहयोगकै कारण आज दमक बहुमुखी क्याम्पसले पूर्व क्षेत्र मै उत्कृष्ट शैक्षिक गन्तव्यको पहिचान बनौन सफल भएको बताए। साथै, यो छात्रावासले छात्रा विद्यार्थीहरूको अध्ययन वातावरण अझ सुरक्षित र सहज बनाउने विश्वास व्यक्त गरे ।