जेनजी अभियन्ता तनुजा पाण्डेले भदौ २४ गतेको आन्दोलन र त्यसपछि उत्पन्न हिंसात्मक घटनालाई लिएर राज्य, सुरक्षा निकाय र आन्दोलनका नेतृत्वकर्ताहरूमाथि गम्भीर प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र नाबालकहरूमाथि गोली चलाउने आदेश कसले दियो भन्दै सत्य सार्वजनिक गर्न माग गरेकी हुन्।

पाण्डेले शान्तिपूर्ण प्रतिबद्धताका साथ सुरु भएको आन्दोलनमा नियोजित स्वार्थ बोकेका मानिसहरूको भूमिका रहेको आशंका पनि गरेकी छन्। ‘करिब ११ बजे नै जेनजी समूहले आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्किन सूचना जारी गर्दा पनि माइकको पहुँचमा रहेका नेतृत्वकर्ताले किन सुनेनन्?’ उनले प्रश्न गरेकी छन्, ‘जोखिम स्पष्ट हुँदाहुँदै आन्दोलन अघि बढाउने निर्णय कसको थियो?’

ब्यारिकेड तोड्ने मनसाय नभएका मानिसहरू संसद् भवन अगाडि कसरी पुगे भन्ने प्रश्न पनि उनको छ।  शान्तिपूर्ण भनिएको प्रदर्शनको दिशा कसले बदल्यो भन्दै उनले आन्दोलनको मोड परिवर्तन गर्ने शक्तिको पहिचान हुनुपर्ने बताएकी छन्। ‘स्कुलको पोशाकमा भएकालाई प्रहरीले केही गर्दैन भन्ने भ्रम कसले फैलायो?’ उनको अर्को प्रश्न छ।

देशभर एउटै समय र संगठित रूपमा सिंहदरबार जलाउन कसले उक्सायो भन्दै उनले जवाफ माग गरेकी छन्। साथै, भाटभटेनी सुपर मार्केटमा भएको आगजनी र त्यहाँ ज्यान गुमाएका ७ जनाको विषयमा राज्य मौन रहेकोमा उनले आपत्ति जनाएकी छन्।

पाण्डेका अनुसार रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले सुरक्षित निकास दिए पनि त्यही दिन १० जना बन्दीहरू प्रहरीको गोलीबाट मारिएको आरोप लगाउँदै यसमा राज्यले दोहोरो चरित्र देखाएको भनेकी छन्।

कार्की आयोगको प्रतिवेदन रोकेर चुनावमा कसैलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै आशंका व्यक्त गरेकी उनले सत्य लुकाएर गरिने चुनावलाई ‘व्यवस्थित भ्रम’ को संज्ञा दिएकी छन्। ‘गोली चलाउन लगाउने र सिंहदरबार जलाउन लगाउने दुवैको सत्य बाहिर आएपछि मात्र जनताले सही मूल्यांकन गर्न पाउँछन्,’ उनले लेखेकी छन्।

Facebook Comments Box