दमक/ दुई अतिवादको बिकल्पका रुपमा झापा ५ मा नेपाली कांग्रेसको तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रस्तुत गरिएकी उम्मेदवार मन्धरा चिमरिया पौडेलको पक्षमा चुनावी माहोल तातेको छ ।
यो क्षेत्रमा राष्टिय राजनीतिमा चर्चा गरिएका एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वापाका बालेन्द्र साह समेत चुनावी मैदानमा उत्रिएपछि दुवैप्रति नागरिकहरुमा बढदो आशंका र वितृष्णा रहेको बुझेको कांग्रेसले स्थानीय उम्मेदवारका रुपमा चिमरियालाई अघि सारेको हो ।
वडास्तरका चुनाव प्रचार प्रसार गतिबिधिहरुमा कांग्रेस र शुभचिन्तकहरुको सक्रियताले मतदाताहरु उत्साहित बन्दै आज नेविसंघ र तरुण दलको संयुक्त आयोजनामा निकालिएको नगरस्तरीय चुनाव प्रचार र्यालीमा सहभागी भएका छन् । दमक ९ स्थित रणभुमी फुटसल मैदान नजिकैबाट शुरु भएको बृहत चुनाव प्रचार रयालीमा सयौंले सहभागिता जनाएका छन् ।
नेविसंघ नेता सुनिल राईले रयालीमा झण्डै एक हजार जना सहभागी भएर कांग्रेसको पक्षमा चुनावी माहोल बढाएका दाबी गरे । उनले भने– कांग्रेस उम्मेदवारसहितको अहिले सम्मकै यो क्षेत्रमा सबैभन्दा ठुलो जनसहभागितामा रयाली निकालिएको छ । यसले कांग्रेसको पक्षमा माहोल बढाएको र जितको बाटो खोलेको महसुस हामीले गरेका छौं ।
रयालीले दमकको अमरसिंह चोक, किराँत चोक, पशुहाट , हनुमान मन्दिर हुँदै बजार क्षेत्र प्रवेश गरेको थियो । कांग्रेसले औपचारिक चुनाव प्रचार प्रसारको अन्तिम दिन भोली दमकको ५ र ६ नम्बर वडा केन्द्रित रयालीसहित शक्ति प्रदर्शन गर्ने जनाइएको छ ।