दमक/ २०४८ सालमा एसएलसी (प्रवेशिका) परीक्षा लेखेपछि लोकनाथ सिग्देललाई ब्यापार गर्ने इच्छा जगायो । हुन त त्यो बेला न यो बेला एसएलसी (एसइइ) परीक्षा दिने उमेरसँगै जो कोहीमा पनि नयाँ योजना, नयाँ सोच हुनु स्वभाविक हो । साविकको तोपगाछी सिग्देलको पुरानो ठेगाना हो ।

त्यो बेला दमक प्रवेश गर्दा दमक बजारको अहिलेको स्वरुप उनको कल्पनामा पनि थिएन । घरहरू थोरै थिए । मानिसको चहलपहल पनि पातलो थियो ।

व्यापार व्यवसायमा यहाँ हात हाले पनि निरन्तरता दिन निक्कै सकस थियो । तर परिवारको साथ र सहयोगबाट नै सिग्देलले आफू व्यवसायी बन्ने साहस गरे ।

साइकलमा एउटा प्लाष्टिकको झोला र झोला भित्र खैनी, बिस्कुट र गुट्खाका पोका साइकलमा बोकेर दमकबाट २२ किलोमिटर दक्षिण गौरीगञ्जसम्म ग्राभेल र धुलौटे बाटो छिचोल्नु उनका लागि दैनिकी जस्तै थियो । व्यापारको भरपर्दो एक मात्र निर्विकल्प साधन साइकल ।

साइकलका पाइडल कति खुस्कीए, चेन कति फेरिए, ब्रेक कति भाँचिए तर उनको एउटा सफल व्यवसायी बन्ने दृढता र अठोटमा कत्ति पनि ठेस लागेन ।

परिश्रम र मेहनतका पर्याय बनेर उनी अनवरत आफ्‌नो व्यापारलाई निरन्तरता दिँदै गाउँगाउँ र देहातका बजारसम्म पुगिनै रहे । व्यापारमा एक /एक मात्र होइन, आधा , पावा र ग्रामको पनि हिसाब हुन्छ । उनले त्यो बेला साइकलमा गरेको घुम्ती व्यापार (पोके) गर्दा मुस्किलले दैनिक पाँच सय रुपैयाँ सम्मको कारोबार हुन्थ्यो । साइकलमा सामान बोकेर हिंडने गरेका सिग्देलले बिस्तारै परिवार र ग्राहक तथा शुभचिन्तकहरुको साथबाट सिग्देल किराना पसल खोले । ’मेहनत गर्दै जाँदा मात्र सफलता मिल्दै गयो ।’ उनले आफ्‌नो बिगत स्मरण गरे ।

विगत सम्झदै उनले भने, ’त्यही मेहनतकै प्रतिफल हो, साइकलको झोले व्यापारलेनै मलाई डिपार्टमेन्ट स्टोर्ससम्म ल्याएको छ । ’ सिग्देल भन्छन्, ’म साइकलमा खैनीका पोका बोकेर गौरादह, गौरीगन्ज, केरखा, पथरी, बिर्तामोडसम्म पनि पुग्थें। ती दिन सम्झिदा निकै दुःखपूर्ण थिए ।’

निरन्तरको मेहनतले व्यापारमा मिलेको सफलताको श्रेय भने उनी आफ्‌नी जिवनसंगिनी सोनी र परिवारका सदस्यहरु , ग्राहक तथा उपभोक्तालाई नै दिन्छन् । पाँच सय रुपैयाँको पुँजीबाट सुरु गरेको व्यापार करोडमा पुगेको छ ।

उ बेला तोपगाछीका सिग्देल अहिले दमकका सिग्देल भएका मात्रै छैनन् धेरैले गाह्रो, अप्ठ्यारोमा सम्झिने नाम भएको छ ।

उनले पछिल्लो समय प्रविधिको उच्चतम सदुपयोग गर्दै उपलब्ध अधिकांश सामग्रीहरुको प्रवद्र्धनात्मक (विज्ञापनिक) सामग्री आफैं बनाएर देश विदेश सम्म फैलाएका छन् ।

सामाजिक सञ्जाल मार्फत दिनहुँ उपभोक्ताहरुमाझ नयाँ नयाँ सामान , ति सामानहरुमा डिापर्टमेन्टले ल्याएको स्कीम वा अफरहरु, कम्पनीले दिएका छुटहरुका बारेमा जानकारी पुरयाउने गरेका छन् । उपभोक्ताको मागलाई ध्यानमा राखेर घरायसी प्रयोजनका सबै सामान एकै ठाउँमा खरिद गर्न सकियोस् भनेर लगभग १२ बर्ष अघि उनले सिग्देल डिपार्टमेन्ट शुरु गरेका हुन् ।

उनी भन्छन्, ’मैले उपभोक्ता र ग्राहकबाट पाएको मायाहौसलाले नै नयाँ ढंगले व्यापार सुरु गर्न सकेको हूँ।’

सिग्देल अहिले दमकका नाम चलेका र सफल व्यवसायीहरुको सूचीमा पर्छन् । धेरै उदियमान र स्थापित व्यवसायीहरुका लागि प्रेरणाका स्रोत पनि बनेका छन् । उनलाई दमकका उद्योगी व्यवसायीहरुको साझा संस्था दमक उद्योग वाणिज्य संघले उत्कृष्ट र सफल व्यवसायीका रुपमा सम्मान समेत गरिसकेको छ ।

आफूले कमाएको सम्पत्तीको दशांस ( दशमा एक भाग) सामाजिक सेवा परोपकारका क्षेत्रमा खर्चिनु पर्छ भन्ने धार्मिक मान्यता राख्ने सिग्देलले मठ मन्दिर, आश्रमहरु, संघ संस्थाहरुमा बेला बेला प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पनि गर्दै आएका छन् । कमाएर मात्रै हुँदैन सेवामा पनि खर्चिनु पर्छ भन्ने उनको सोचलेनै उनलाई एकपछि अर्को सफलताको सिँढीमा हिंडाइरहेको छ ।

Facebook Comments Box