झापा/ झापाको कमल गाउँपालिकामा सुनौलो हजार दिनका आमा र ५ वर्ष मुनिका बालबालिकाको अवस्था पहिचान गर्न स्वास्थ्यकर्मीहरु सक्रिय भएका छन् ।
बालबालिकाको पोषण अवस्था पहिचान तथा सुधार गर्ने उद्देश्यले कमल गाउँपालिकामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्यकर्मीहरु सक्रिय भएका हुन् ।
नेपाल सरकारको देशव्यापी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको सो अभियान गाउँपालिकाका सात वटै वडामा एकैसाथ अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले जानकारी दिए ।
उनका अनुसार अभियान सुरु गर्नुअघि स्वास्थ्यकर्मीहरूलाई दुई दिने तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई एक दिने अभिमुखीकरण प्रदान गरी दक्ष बनाइएको थियो ।
स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको यस अभियानमा सुनौलो हजार दिनका आमासहित बालबालिकाको पोषण अवस्था पहिचान गरिने स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले जानकारी दिए ।
अभियान अन्तर्गत बालबालिकाको उचाइ, तौल तथा पाखुराको मध्य भागको परिधि मापन गरी पोषण अवस्था निर्धारण गरिनेछ ।
अभियानमार्फत ६ महिनादेखि ५९ महिनासम्मका करिब ४ हजार बालबालिका तथा करिब १ हजार ४ सय आमाहरूको पोषण परीक्षण गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ । वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन भइरहेको यस अभियानले कुपोषणको शीघ्र पहिचान गरी समयमै उपचार तथा व्यवस्थापनमा सहयोग र्पुयाउने विश्वास लिइएको छ ।
अभियानका क्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत घरघर तथा टोलटोलमा पुगेर बालबालिकाको पाखुराको परिधि मापन गरिनेछ । साथै, कुपोषित बालबालिकाका अभिभावकलाई बहिरङ्ग सेवामार्फत तयारी उपचारात्मक खानाको विधिबारे जानकारी प्रदान गरिनेछ ।
नेपाल सरकारको योजना अनुसार अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूबाट सञ्चालन भइरहेको छ ।
३० बालबालिकाको परीक्षण
यसैक्रममा अभियानको पहिलो दिन कमल गाउँपालिका–२ नं वडाको मिलन टोलमा स्क्रिनिङ्ग शिविर सञ्चालन गरी ५ वर्ष मुनिका ३० जना बालबालिकाको पोषण लेखाजोखा गरिएको छ ।
शिविरमा सी.अ.न.मी. निरीक्षक गीता मंग्रान्ती र अ.न.मी. झुमादेवी ढुङ्गाना खटिएका थिए भने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका उषा दाहालले समुदायस्तरमा सहजीकरण गरेकी थिइन् ।
अन्य स्वास्थ्य संस्थाहरूले पनि अझ व्यापक रूपमा पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरेका छन् ।
कुपोषणलाई घरदैलोमै पहिचान गरी समयमै नियन्त्रण नगरे भविष्यको जनशक्ति नै कमजोर हुने भएकाले यो कार्यक्रमको विशेष महत्व रहने कमल २ का वडाध्यक्ष अशोक सुब्बा बताउँछन् ।
सुब्बाले बालबालिकाको पोषण सुधारलाई दीर्घकालीन विकाससँग जोडेर हेर्नुपर्ने बताए ।
वडाध्यक्ष सुब्बाले भने “कुपोषणलाई समयमै नियन्त्रण गर्न सकेनौँ भने यसले भावी पुस्ताको शारीरिक र मानसिक विकासमा गम्भीर असर पार्छ । त्यसैले हामीले यो अभियानलाई केवल कार्यक्रम नभई जनस्वास्थ्यको व्यापक अभियानका रूपमा अघि बढाएका छौँ । घरघरमै पुगेर सेवा दिने यो पहलले एक जना पनि बालबालिका छुट्न नदिने हाम्रो लक्ष्य हो ।”