झापा/  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। आज (सोमबार) साँझ प्रकाशन भएको नतिजाअनुसार एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

यस्तै, १ लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

नतिजा प्रकाशन गर्न परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण व्यवस्था मिलाइएको थियो। बोर्डले परीक्षा सकिएको २९ दिनमा एसईईको नतिजा सार्वजनिक गरेको हो।
चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए। जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।

परीक्षा बोर्डले एसईई नजिता हेर्न सकिने विभिन्न माध्यमबारे पनि जानकारी दिएको छ।

परीक्षा नियन्त्रण कार्यालयले एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने जनाएको छ।

बोर्डका अनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ।

Facebook Comments Box