झापा/ झापाको कमल गाउँपालिकाका सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को नतिजामा सामान्य सुधार देखिएको छ ।
अघिल्लो वर्ष ७१ प्रतिशत रहेको समग्र उत्तीर्ण प्रतिशत यस वर्ष बढेर ७२ प्रतिशत पुगेको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष १० वटा सामुदायिक विद्यालयबाट ४७८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३४५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्षको नतिजामा केही विद्यालयले उत्कृष्ट प्रदर्शन गरेका छन् भने केही विद्यालयको नतिजा कमजोर देखिएको छ ।
श्री महेन्द्र रत्न माध्यमिक विद्यालय, कमल–२ ले शतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेको छ । सो विद्यालयबाट सहभागी ११ जना विद्यार्थी सबै उत्तीर्ण भएका हुन् ।
त्यस्तै, सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको मंगलमय माध्यमिक विद्यालय, कमल–५ ले पनि उल्लेखनीय नतिजा ल्याएको छ ।
विद्यालयबाट सहभागी १६४ जनामध्ये १५४ जना उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत ९४ रहेको छ ।
बाँसबारी मावि, कमल–१ ले पनि ९४ प्रतिशत नतिजा ल्याएको छ भने श्री कमला मदन आमा मावि, कमल–२ ले ८२ प्रतिशत र शहिद धर्मभक्त मावि, कमल–३ ले ८१ प्रतिशत नतिजा हासिल गरेका छन् ।
केही विद्यालयको नतिजा भने कमजोर देखिएको छ । सरस्वती मावि, कमल–४ बाट सहभागी १४ जनामध्ये १ जना मात्र उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत ७ रहेको छ । त्यसैगरी वाणी मावि, कमल–६ को उत्तीर्ण प्रतिशत २२ र ज्योति मावि, कमल–२ को ३२ प्रतिशत रहेको छ ।
समग्रमा अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले सुधार देखिए पनि विद्यालयबीचको नतिजामा ठूलो अन्तर देखिएको छ । शिक्षा क्षेत्रका सरोकारवालाले कमजोर नतिजा भएका विद्यालयको शैक्षिक अवस्था सुधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
सन्तुष्ट छैनौं– अध्यक्ष राई
यसैबीच स्थानीय सरकारले पालिका भित्रका सामुदायिक बिद्यालयको समग्र नतिजामा सुधार देखिएता पनि यत्तिमै सन्तुष्ट हुन नसकिने जनाएको छ ।
शिक्षा समिति संयोजकको समेत जिम्मेवारी सम्हालिरेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भने– हामी यो नतिजाबाट पूर्ण सन्तुष्ट छैनौं । अघिल्लो बर्ष ७१ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८२ मा कम्तीमा ८१ प्रतिशत पुरयाउने लक्ष्य राखेका थियौं । उनले एसईई नतिजा सुधारका लागि गाउँपालिकाले सबै बिद्यालयमा अनुकुलता हेरी बिहानी, दिवा र रात्री कालिन समयमा निशुल्क ट्युशन कोचिङ कक्षाको व्यवस्था गरिएको पनि स्मरण गरे ।