दमक/झापाको दमकमा २०६८ सालमा स्थापना भएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो तेस्रो सेवा केन्द्र पूर्वकै प्रतिष्ठित शहर विर्तामोडमा सञ्चालनमा ल्याएको छ ।

आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै यस अघि केर्खा र सुरुङगामा आफ्नो सेवा केन्द्र सञ्चालन गरिआएको सो संस्थाले तेस्रो सेवा केन्द्र सञ्चालनका लागि विर्तामोडलाई रोजेको संस्थाका उपाध्यक्ष रोशन गौतमले बताउनु भयो । विर्तामोडको शनिश्चरे रोड नजिकै शुक्रबार आयोजित सक्षिंप्त कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले सो सेवा केन्द्रको उद्घाटन गर्नु भयो । उहाँले सदस्यहरुको सेवालाई ध्यानमा राखेर व्यवसायिक सहजताका लागि विर्तामोडमा स्थापित द एभरेष्टको सेवा केन्द्रलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष दिपक खरेलले सहकारी स्थापनाको इतिहासनै बचत तथा कारोबारमा मात्रै केन्द्रित नभई सामाजिक गतिबिधिमा समेत संलग्न रहेको हुँदा विर्तामोडमा हुने हरेक सामाजिक गतिबिधिहरुमा सो संस्थाले सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
संस्थाका सचिव ज्ञाननाथ पौडेलले संस्थाले यस अघि दमकमा सञ्चालन गर्दै आएको हरित दमक अभियान, प्लाष्टिक मुक्त दमक, रक्तदान, अपाङगता भएकाहरुलाई ह्विलचियर वितरण लगायतका गतिबिधिले यो संस्था मुलत बचत तथा ऋणको कारोबारसंगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रुपमा समेत क्रियासिल भएको संस्थाका रुपमा बुझ्न सकिने बताउनु भयो । संस्थाका व्यवस्थापक नवराज बाँस्तोलाका अनुसार सो संस्थामा हाल पाँच करोड ६५ लाख ५३ हजार दुई सय १८ रुपैंया शेयर पुँजी रहेको छ ।
संस्थाले ३९ करोड ८२ लाख ७१ हजार चार सय ८८ रुपैंया कर्जा लगानी गरेको छ भने निक्षेप ३३ करोड ६२ लाख ३४ हजार आठ सय ३२ रुपैंया रहेको छ । संस्थाका लेखा समिति संयोजक राजकुमार न्यौपानेले द एभरेष्ट साकोसले समय सापेक्ष सदस्यहरुको सुविधाका लागि आकर्षक ब्याजदरसहितका बचत कार्यक्रमहरु ल्याएको बताउनु भयो ।
