दमक/ दमक ७ स्थित ईष्र्टन स्टार बोर्डिङ स्कुल स्थापनाको २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती मनाइएको छ ।

पुस १ र २ गतेसम्म स्कुलले विभिन्न कार्यक्रम गरि रजत जयन्ती मनाएको हो । स्कुलका संस्थापक प्रिन्सीपल एलडी राईका अनुसार पहिलो दिन प्राइमेरी ,लोवर र सेकेण्डरी तहका चार वटा अन्तर सदनवीच नृत्य,गायन प्रतियोगिता गरियो भने विद्यार्थीहरुले विभिन्न जातिय भेषभूषाहरुमा क्याटवाक गरेका थिए । त्यस्तै मन्टेश्वरी देखि कक्षा २ सम्मका विद्यार्थीहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै पूर्व विद्यार्थीहरुले समेत आफनो प्रस्तुति देखाएका थिए ।
स्कुलको प्राङगणमा भएको रजत जयन्ती विशेष कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसहित अतिरिक्त शैक्षिक कृयाकलापहरु प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले भेषभूषामूलमक गीत,नृत्य प्रस्तुत गर्नुका साथै विज्ञान तथा खानाको परिकारहरुको समेत प्रर्दशनी गरेका थिए ।
सोहि अवसरमा स्कुलका आफना बालबच्चालाई नियमीत पठाउने तथा अनुशासित विद्यार्थीका दश जना उत्कृष्ठ अभिभावकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै २० वर्ष भन्दा बढी समयदेखि स्कुलमा कार्यरत पाँच जना शिक्षक, कर्मचारीहरुलाई समेत पुरस्कृत गरियो भने स्कुलका शिक्षक ,कर्मचारी र पूर्व विद्यार्थीलाई पनि मायाको चिनो प्रदान गरिएको प्रिन्सीपल राईले जानकारी दिनु भयो ।
प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा स्कुलद्धारा प्रकाशित स्मारिकाको समेत लोकापर्ण गरिएको थियो । रजत जयन्तीका अवसरमा प्रकाशित स्मारिका पुस्तिकामा स्कुलका बारेमा लेख,रचनाहरु समावेश गरिएको स्मारिका प्रकाशन उपसमितिका संयोजक समेत रहनु भएका स्कुलका सहायक प्रिन्सीपल घनश्याम कोइरालाले जानकारी दिनु भयो ।


कार्यक्रममा प्रमुख अतिथि राई, दमक नगरपालिकाका शिक्षा शाखाका प्रमुख दिनेशकुमार न्यौपाने, निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ( प्याव्सन ) का केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, प्याव्सन प्रदेश १ का बरिष्ठ सल्लाहकार तेजकुमार श्रेष्ठ, प्याव्सन झापाका बरिष्ठ उपाध्यक्ष गौरीमान फागो ,यूनिक कलेजका प्रमुख लेखनाथ सेढाईलगायतले बोलेका थिए । कार्यक्रममा प्याव्सन झापाका पदाधिकारी सदस्यहरु ,अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box