दमक/नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले मुटु रोगका बिरामीहरुलाई लक्षित गत वैशाख ६ गते सामुदायिक अस्पतालको उद्घाटन गरेपनि अझै उपचार सेवा शुरु हुन सकेको छैन ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा् भगवान कोइरालाले सो अस्पतालको उद्घाटन गरेको डेढ महिना वितेपनि सेवा भने सूचारु हुन नसकेको हो । अस्पताल सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको बन्दोबस्ती लगायत अन्य तयारी पूरा भएपनि अस्पतालमा सञ्चालन हुने ल्याबमा आवश्यक केहि महत्वपूर्ण उपकरणहरु विदेशबाट आउने क्रममा रहेकाले तत्कालै सेवा शुरु हुन नसकेको नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले जानकारी दिए ।
धेरैजसो उपकरणहरु नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयले उपलब्ध गराएको र केहि उपलब्ध हुने क्रममा रहेको तथा केहि उपकरण स्थानीयस्तरबाटै जुटाउने काम भईरहेको जनाइएको छ । १५ शैयाको सो अस्पतालका लागि प्रदेश सरकारले समेत बजेट उपलब्ध गराएको बताइएको छ । सो अस्पताल गतबर्ष नै स्वीकृत भएका कारण उपकरणहरु समेत आउने क्रममा रहेकाले केहि दिन भित्रै सेवा सुचारु हुने बुढाथोकीले जनाए ।

Facebook Comments Box