दमक/नेपाली कांग्रेसकी नेतृ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले दमक ८ को सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रकृया अघि बढेको बिषय चर्चामा आएको एक महिना वितिसक्दा पनि अनुसन्धानको पाटोमा भएको प्रगतिका बिषयमा सत्यतथ्य बाहिर नआएको भन्दै तत्काल छानविन गरेर दोषिमाथि कारवाही गर्न माग गर्नुभएको छ ।
झापा दमक स्थायी घर भएकी सांसद लिम्बुले जताततै नेकपाका नेता कार्यकर्ताहरुले राज्यशक्तिको चरम दुरुपयोग गरिरहेपनि सरकार तिनीहरुको संरक्षणमा लागेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । गृह नगरमा आज नेपाल प्रेस युनियन माइपश्चीम समितिले आयोजना गरेको पत्रकार भेटघाटमा ऐलानी जग्गा प्रकरणमा संलग्न दोषीलाई कडा कारवाही गर्न र फिल्डबुकका आधारमा जोतभोग गर्न नपाएका सुकुम्बासीहरुलाई जग्गाको धनीपूर्जा दिलाउन सरकारसंग माग गर्नुभयो ।

उहाँले कुनै पनि राजनीतिक वा सरकारको आवरणमा राज्यशक्तिको दुरुपयोग गर्नेलाई कानुनले छुट नदिने भन्दै त्यस्तो गलत काममा आफू र आफ्नो पार्टीका समेत कोहि नेता कार्यकर्ता संलग्न भएको अनुसन्धानबाट प्रमाणित भए कारवाहीको दायरामा ल्याउनुपर्ने स्पष्ट धारणा रहेको बताउनु भयो । उहाँँले भन्नु भयो – यदि मैंले पनि त्यस्तो नाजायज काम गरेको छु भने कारवाही होस । तत्कालिन समयमा तुवा खोलाबाट विस्थापित भएका सुकुम्बासीहरुको नाममा फिल्डबुक समेत कायम भएका जग्गा एउटा संगठित गिरोहले आफनो नाममा बनाएको बिषय आम जनचासोको र राष्ट्रिय ध्यान जानु पर्ने बिषय भएकाले आफूले यसबारेमा संसदमा समेत कुरा उठाउने सांसद लिम्बुले बताउनु भयो । सांसद लिम्बुले आफू यस क्षेत्रको जनप्रतिनिधि भएकाले पनि कसैले पनि जनता मार्ने कार्य विरुद्ध आफू कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिनु भयो ।
त्यहाँको जग्गा घरायसी कागज बनाएर नेपाली कांग्रेसका जिम्मेवार नेताहरुले समेत किनेको आरोपित पुरीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको बिषयले कांग्रेस वृत्तमा पनि हलचल पैदा भएको छ । सांसद लिम्बुले जो कोही पार्टीको नेता कार्यकर्ता त्यसमा संलग्न रहेको भएपनि कारवाही हुनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउनु भयो । पत्रकार भेटघाटमा कांग्रेस झापा क्षेत्र नं ५ का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले दमक ८ स्थित वालुवाटार जग्गा प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्नुभयो ।
जग्गा प्रकरणमा कांग्रेसका स्थानीय नेताहरुको नाम जोडेर कुनै व्यक्तिले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भएपनि अहिले सम्म सम्बन्धित निकायबाट भईरहेको अनुसन्धानको प्रगति बाहिर नआएकाले सो प्रकरणमा कांग्रेस नेता कार्यकर्ताहरुमाथि कुनै किसिमको आरोप क्षम्य नहुने बताउनु भयो । यूनियनका माइपश्चिम अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा कांग्रेस महासमिति सदस्य सुरेस सुब्बा, पार्टी जिल्ला सहसचिव राजेन्द्र भण्डारी, पूर्व महासमिति सदस्य राजन बहादुर ढुंगाना लगायतका नेता,कार्यकर्ताहरुको ठुलो संख्यामा उपस्थिति थियो । पत्रकार भेटघाट लगत्तै सांसद लिम्बु भने काठमाडौं फर्किनु भएको छ । उहाँले सरकारका विभिन्न सरोकारवाला निकायहरुसंग पनि यस बिषयमा थप बुझेर सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिलाउन र घोटाला प्रकरणमा दोषि ठहर भएकाहरुलाई कारवाहीको लागि दबाब दिने बताउनु भएको छ ।