निष्कर्ष न्यूज
दमक/दमक ३ स्थित ढुकुरपानी माविमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ । विद्यालय परिसरमा यस अघि युएनएचसीआरले निर्माण गरिदिएको खानेपानी ट्याङकीमा यस बर्ष दमक नगरपालिकाले फिल्टर जडानसंगै अन्य बन्दोबस्ती मिलाएपछि त्यहाँ फिल्टरयुक्त शुद्ध खानेपानीको सुविधा भएको हो ।


विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले एक/एक हजार लिटर क्षमताका दुई वटा ट्याङकीमा एक साथ २ हजार पानी अट्ने भएकाले त्यहाँका विद्यार्थी, शिक्षक, कर्मचारी सबैलाई पर्याप्त शुद्ध खानेपानी सुविधा पुगेको बताउनु भयो । उहाँले नगरपालिकाको यस बर्ष करिब ३ लाख रुपैयाँको लागतमा त्यहाँ आधुनिक किसिमको फिल्टरसंगै खानेपानी धारा लगायतका संरचनाहरु निर्माण पूरा भई पानी उपलब्ध भएको बताउनु भयो ।


सो खानेपानीको दमक नगरपालिकाकी उपमेयर तथा शिक्षा समिति संयोजक गीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बुधबार उद्घाटन गर्नुभएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपाने, दमक ३ का वडाध्यक्ष नविन बराल लगायतको विशेष उपस्थितीमा आयोजित कार्यक्रमका बीच सो खानेपानी सेवाको उद्घाटन गरिएको हो ।
सडक बालबालिकाका लागि छात्रावास बन्ने
भुटानी शरणार्थीहरु सहित सो विद्यालयमा करिब ७ सय विद्यार्थी अध्ययनरत रहेका सो विद्यालय परिसरमा दमक नगरपालिकाले सडक बालबालिकाहरुलाई अध्ययन र अध्ययन गर्न नचाहने तर सीप सिक्न चाहने उमेर भएका किशोर किशोरीहरुका लागि छुट्टै छात्रावास भवन समेत निर्माणको योजना अघि सारेको छ । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले गत बर्ष सम्पन्न बाल महोत्सवको उद्धेश्य अनुरुप महोत्सवबाट भएको आम्दानीमा सरकारका उपल्लो निकायहरुबाट थप बजेट जुटाएर छात्रावास भवन निर्माण गर्ने योजना रहेको बताउनु भयो । सो छात्रावासमा नियमित औपचारिक अध्ययन गर्न चाहनेहरुलाई राखेर विद्यालयमा अध्यापन गराउने र उमेर ढल्कीसकेका वा कुनै कारणले कक्षा कोठामा बसेर पढ्न नचाहने तर विभिन्न आयमुलक सीप सिक्न चाहने सडक बालबालिकाहरुलाई राख्ने व्यवस्था मिलाइने उपप्रमुख अधिकारीले जनाउनु भयो । सोका लागि प्रदेश र संघीय सरकारका साथै दातृ निकायहरुको सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो ।

Facebook Comments Box