विष्णु पौडेल

दमक/झापा दमकका उद्योगी व्यवसायी नेताहरुले सुरक्षाका लागि ४ बर्ष अघि नगरपालिकासंगको सहकार्यमा जडान गरिएका सीसी क्यामराको नियमित मर्मत सम्भारमा नगरपालिका र इलाका प्रहरी कार्यालय दमक दुवै जिम्मेवार नभएको गुनासो राखेका छन् ।


इलाका प्रहरी कार्यालय दमकको निगरानीमा रहने गरि ८ स्थानमा जडान गरिएका सीसी क्यामराको सदुपयोग हुन नसकेको भन्दै व्यवसायीहरु सीसी क्यामरा जडानका लागि थप व्ययभार ब्यहोर्न नसक्ने अवस्थामा रहेको भन्दै सुरक्षाका लागि सरकारले आवश्यक बन्दोबस्ति मिलाउनुपर्नेमा व्यवसायी नेताहरुको जोड छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले आज इलाका प्रहरी कार्यालय दमकमा अपराध अनुसन्धानका लागि आफू प्रविधिको सदुपयोग गर्ने पक्षमा रहेको भन्दै ठाउँ ठाउँमा सीसी क्यामरा जडानका लागि सहकार्य गर्न प्रस्ताव गर्दै राखेको छलफलमा व्यवसायी अगुवाहरुले त्यस्तो जोड दिएका हुन् । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले २०७२ सालमा आफ्नै नेतृत्वमा जडान गरिएका ८ वटा सीसी क्यामराको नियमित मर्मत सम्भार र निगरानी गर्ने कार्यमा इलाका प्रहरी कार्यालय दमक र नगरपालिकाले चासो नदिएको स्मरण गराउँदै थप खर्चको भार व्यवसायीहरुले ब्यहोर गर्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो – हामी व्यवसायीले पहिला पनि सहयोग र सहकार्य नगरेको होइन अझै पनि गर्छौैं तर सीसी क्यामराको मर्मत सम्भारको जिम्मा लिएको निकायले जिम्मेवारीबहन गरेन । छलफलकै क्रममा संघका निवर्तमान अध्यक्ष राजेन्द्र ढकालले प्रदेश सरकारबाट गत आर्थिक बर्षमा दमकको सुरक्षाका लागि जडान गर्ने भनिएको सीसी क्यामरा जडान प्रहरीले गर्ने कि व्यवसायीले भन्ने बिषयमा टुंगो नलाग्दा बजेट खर्च नभई फिर्ता भएको स्मरण गराउँदै प्रहरीको १ नम्बर प्रदेश कार्यालयको तत्कालिन नेतृत्व त्यसमा जिम्मेवार रहेको आरोप लगाउनु भयो । उहाँले व्यवसायीहरु सरकारको चर्को करको मारमा परिरहेका बेला सुरक्षाका लागि सीसी क्यामरा जडानमा सहकार्य गर्न आर्थिक स्रोत जुटाउन नसक्ने अवस्थामा रहेको बताउनु भयो ।

संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँले विगतमा भएका कमि कम्जोरीबाट पाठ सिक्दै अझैपनि दमकको सुरक्षाका लागि व्यवसायीहरु सहकार्य गर्न तयार रहेको तर सरकारको बजेट खर्च नभई फिर्ता गएको परिवेशमा सोहि बजेटलाई ल्याउने कुरामा प्रहरी , स्थानीय सरकार र उद्योग वाणिज्य संघ तीनैपक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष राजेन्द्र दंगालले होटल तथा लज व्यवसायीहरुले ढुक्कसंग व्यवसाय गर्ने वातावरण बन्न नसकिरहेको भन्दै राज्यलाई कर तिरिसकेपछि तोकिएको समय भित्र व्यवसाय सञ्चालन गर्दा पनि प्रहरीबाट जवरजस्ती होटल बन्द गर्न लगाउने गरिएको गुनासो राख्नु भयो । सुनचाँदी व्यवसायी संघका अध्यक्ष शेरबहादुर गजमेरले व्यवसायस्थलमा भरपर्दो सुरक्षाको अनुभूति दिलाउन माग गर्नुभयो । सो अवसरमा यातायात व्यवसायी प्रेम श्रेष्ठ लगायतले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

Facebook Comments Box