भीम प्रसाद पौडेल दमक ७ का निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । उहाँ दमकको साविक वडा नं १२ बाट २०५४ सालमा समेत वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
२०७४ को जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेले दमकका १० मध्ये ८ वडामा चुनाव जित्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिको अध्यक्ष समेत रहनु भएका पौडेलले वडा नं ७ र सोहि पार्टीका ताराप्रसाद अधिकारीले वडा नं १ को वडाध्यक्षमा निर्वाचन जितेर स्थानीय सरकारमा प्रतिपक्षीबिहीनताको अवस्था आउन बाट जोगाउनु भएको थियो । पौडेललाई नगरपालिकाले नगरको बजार अनुगमन समिति संयोजकको समेत जिम्मेवारी दिएको छ । प्रस्तुत छ पौडेलसंग वडामा भईरहेका काम, उठेका विवाद र समाधानका बिषयमा केन्द्रित भएर गरिएको कुराकानीको निष्कर्ष–

 

नगरपालिकाको बोर्डमा तपाइँहरु अल्पमतमा हुनुहुन्छ , बहुमतको पेलाई कत्तिको महसुस गरिरहनु भएको छ ?
मेरो आफ्नै किसिमको स्वभाव छ । म कसैसंग नचाहिने कुराको बार्गेनिङ पनि गर्दिंन । नचाहिने काममा हात पनि हाल्दिन । कसैमाथि जानजान अन्याय गर्ने बानी पनि छैन र अन्याय सहने पनि बानी छैन । हाकाहाकी कुरा गर्ने हो । सिस्टम र विधि अनुसार सबैले चल्नुपर्छ । बहुमतका नाममा कसैले विधि र प्रकृयालाई मिचेर अघि बढ्न खोज्छ भने म चाँही टेर्दिन । अहिले सम्म मैंले त्यस्तो अनुभव गरेको पनि छैन ।
तपाइँको वडामा सुकुम्बासीको अवस्था के छ ?
हो सुकुम्बासीको समस्या अरु पनि वडामा छन् । देशैभर छ । त्यस बिषयमा पहिलो कुरा त राज्यको नीतिनै स्पष्ट नहुँदा समस्या आएको हो । हाम्रो वडामा २०५४ सालमा ६५ घर सुकुम्बासी थिए । अहिले त्यो संख्या के कति छ भनेर यकिन गर्ने काम भईरहेको छ । सुकुम्बासीको वास्तविक पहिचान पहिलो काम हो । पहिचान गरिसकेपछि कहाँ के कसरी व्यवस्थापन गर्ने त्यो बिषयमा निर्णय लिन त्यति गाह्रो छैन ।

नगरपालिकाको जग्गा खाली गराउने विषयमा तपाईँले किन धेरै आलोचना खेप्न परिरहेको छ ?

पहिलो कुरा त म सहि कुरालाई सहि र गलतलाई गलत भन्न सक्ने हिम्मत गर्छु । मेरो यो स्वभाव हो ।
नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बसोबास गरिरहनु भएका जग्गाबिहिन नागरिकहरुलाई नीतिगत रुपमानै निर्णय गरेर बसोबासको व्यवस्था मिलाउनु पर्छ र नगरपालिकाको स्वामित्वको जग्गा संरक्षण गर्दै सुदपयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यिनै बिषयहरुलाई तोडमोड गरेर अनर्गल र भ्रामक कुराहरु पनि कतिपय मानिसहरुले फैलाउने गरेका छन । वास्तविकता त्यो होइन । मैंले नगरपालिकाको जग्गा संरक्षण र सुुकुम्बासीहरुलाई घर जग्गा दिलाउने दुवै बिषयमा स्पष्ट दृष्टिकोण राखिरहेको छु । र त्यही अनुसार निर्णय गर्दै कार्यान्वयन समेत भईरहेको अवस्था छ ।
नगरपालिकाको बोर्डमा कुरा भएको छ । यहाँका विपन्नहरुलाई घरको बन्दोबस्ती मिलाउँदै गर्दा नगरपालिकाको जग्गामा बस्नुभएका वास्तविक सुकुम्बासीहरुलाई एकीकृत नमुना बस्तीमा स्थानान्तरण गरिनेछ ।
उहाँहरुलाई पहिलो प्राथमिकता दिईनेछ । अन्यत्र जग्गा भएका तर नगरपालिकाको जग्गामा बसोबास गरिरहेका नागरिकहरुलाई भने नगरपालिकाले सम्पर्कमा आउन आव्हान गरिरहेको छ । उहाँँहरुलाई आफ्नो जग्गा भएको ठाउँ सम्म बसाइँ सरी जाने खर्च, घर भत्काउन र नयाँ घर बनाउन लाग्ने केही रकम भएपनि सहयोग गर्ने काम नगरपालिकाबाट भईरहेको छ ।
यदि कोही लामो समयदेख बसोबास गर्दै आएको जग्गा अहिले कोही व्यक्तिका नाममा दर्ता रहेछ भने त्यस्ता परिवारले सम्बन्धित जग्गाधनीलाई न्यायोचित मुल्य दिएर समाधानका लागि तयार हुनुपर्छ भनेर वडाले आवश्यक सहजीकरण गरिरहेको छ । त्यो कुराको ग्यारेन्टी म वडाध्यक्ष हुनुका नाताले लिन्छु । अर्को कुरा विवादित म भएको होइन निर्णय नगरपालिकाले पहिला नै गरेको हो । हामी निर्वाचित भएर आउनु भन्दा अघिनै सर्वदलीय बैठकको निर्णय अनुसार जग्गा खाली गराउने सूचना भएको हो ।
सुनचाँदी लाइनको समस्या पनि त्यही अनुसार समाधान गरिँदैछ । त्यहाँका कूल २३ घर परिवार मध्ये ९ घर परिवार भुमीहिन अर्थात सुकुम्बासी हुनुहुन्छ । उहाँ (सुकुम्बासी परिवार) लाई घरको व्यवस्था गरिँदैछ ।
दमक १ मा बनेको एकीकृत नमुना बस्तीका घरहरुमा उहाँहरुलाई बसोबास गर्ने व्यवस्था मिलाइनेछ । यदकदा भ्रमहरु फैलाइदैछ भन्ने सुनेको छु । एकीकृत नमुना वस्तीमा बस्नेहरुसंग घर भाडा वापत नगरपालिकाले पैसा लिन्छ भनेर पनि सुकुम्बासीहरुलाई भड्काउने काम केही मानिसहरुले गरिरहेका छन भन्ने पनि सुनें । ति सबै अनर्गल र भ्रमहरु हुन ।
एकीकृत नमुना बस्तीमा सुकुम्बासीहरुलाई राखिनेछ । त्यसमध्ये पनि पहिलो प्राथमिकता नगरपालिकाको जग्गामा बसोबास गरिरहेकाहरुलाई हुनेछ । त्यहाँ विजुली, पानी लगायतको सुविधा उपभोग वापतको आफूलाई पर्न आउने शुल्क आफैं तिर्नुपर्छ । त्यो बाहेक कुनै पनि पैसा तिर्नुपर्दैन ।
सुनचाँदी लाइनको जग्गामा बसोबास गरिरहेका तर अन्यत्र पनि जग्गा भएकाहरुलाई घर बनाई नसकुञ्जेल सम्मका लागि घर भाडा वापतको खर्च दिएर व्यवस्थापन गर्ने काम हुँदैछ ।
उहाँहरु मध्ये केहीले यातायात खर्च र घर बनाउने समेत खर्च लिएर आफ्नो स्थानमा जानु भयो । जो अहिले पनि नगरपालिका वा वडासंग सम्पर्कमा आईरहनु भएको छैन दिएको सेवा सुविधा लिएर जान चाहिरहनु भएको छैन उहाँहरुका बिषयमा म अहिले यति मात्रै भन्छु उहाँहरुले अवसर चुकाउनु भयो ।
अर्को भनेको पशुहाट छेउको बस्ती हो । त्यहाँका पनि वास्तविक सुकुम्बासीका बिषयमा वडाले र नगरपालिकाले उचित निर्णय लिनेनै छ । अन्यत्र घर जग्गा भएका जो कोही हुनुहुन्छ उहाँहरुले त्यहाँको जग्गा खाली गरेर आफ्नो जग्गामा जानुनै उत्तम हुन्छ । हाम्रो निष्कर्ष के हो भने वडाबासी कसैमाथि पनि अन्यायपूर्ण निर्णय हामीबाट भएको छैन । बाहिर सुनाउनेहरुले भनेको कुरा भन्दा वास्तविकता के हो भनेर सम्बन्धित वडा र नगरमा सम्पर्क गरेर बुझ्दा वडाबासीहरुले त्यो महसुस गर्नुहुनेछ ।
 

वडामा नयाँ काम के गर्दै हुनुहुन्छ ?

नयाँ भन्नाले कतै नभएको नयाँ काम त होइन तर पनि हाम्रो वडाले केही फरक कामहरु गर्दैछ । गत बर्षदेखिनै वडा क्षेत्रमा रहेको पञ्चायत रजत स्तम्भको संरक्षण गर्ने काम भएको छ । ऐतिहासिक महत्व बोकेका यस्ता सम्पत्तिहरु ठाउँ ठाउँमा भत्काइएका छन अतिक्रमित भएका छन तर वडा नं ७ मा यसलाई संरक्षण गर्ने काम मात्रै भएको छैन यस क्षेत्रलाई सदुपयोग गरेर सुन्दर पार्क बनाउँदा भोलीका दिनमा बालबालिकादेखि बृद्धबृद्धा सम्मलाई आनन्द महसुस हुने ठाउँ बन्छ । अर्को कुरा मैंले चुनावताका पनि भनेको थिएँ रतुवा खोला किनार तटबन्धनको बिषय । यसका लागि प्रारम्भिक काम शुरु भईसकेको छ । रतुवा पूल उत्तर खोला किनारमा बाँँध बाँधेर त्यहाँ आकर्षक पार्क बनाउने योजना छ । यसले हरित शहर निर्माणमा पनि योगदान दिनेछ । अरु त सडक फराकिलो बनाउने, स्तरोन्नती गर्ने, खानेपानी, विजुली , विद्यालय लगायतसंगै सामाजिक विकास, स्वास्थ्य सेवा लगायतका नियमित कामहरु वडाले गरिनै रहेको छ । यि कामहरु भनेका सबैले गरिरहेका काम हुन् ।

Facebook Comments Box