निष्कर्ष न्यूज विश्लेषण
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले कोमामा छ । यसअर्थमा कि न पार्टी संगठनलाई चलायमान बनाउन सकेको छ न त प्रमुख प्रतिपक्षीको भूमिकामा शसक्त रूपमा उभिन सकेको छ ।
पार्टीको गुटगत राजनीतिचाहिँ धेरै चलायमान छ । अहिले कांग्रेस कार्यकर्ताबीचमै फुट छ । आफू संलग्न गुट बाहिरको कार्यकर्ता भयो भने नेताहरू यसलाई दुस्मनजस्तै ठान्छन् । मुख्य त कांग्रेसमा चार गुट देखिन्छन् । ती गुटभित्र उपगुट त असीमित छन् । कांग्रेसमा मुख्य त सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, आफूलै वैचारिक गुट मान्ने कृष्णप्रसाद सिटौला र कोइराला परिवारले गुट चलाउँदै आएका छन् । तीमध्ये सिटौलाको सानो त निर्णायक समूह हो ।
यो १३ औँ महाधिवेशनको परिणामले पनि पुष्टि गर्छ । १३ औँ महाधिवेशनमा सिटौला समूहले समर्थन गरेका कारण देउवा सभापति बन्ने अवसर पाए । अहिले यिनै देउवाविरुद्धको मोर्चाबन्दीमा छन्, सिटौला । सभापति देउवाको चार वर्षे कार्यकाल यही फागुनबाट सकिँदैछ । तर, पार्टीको विधानअनुसार थप एक वर्ष कार्यकाल लम्ब्याउने निश्चित छ । सभापति देउवाको यो कार्यकाल निकै विवादित बन्यो । यसअघि पार्टीभित्रको प्रतिपक्षमा हुँदा भागबन्डामा रमाउने देउवाले नेतृत्वमा आउँदा पनि भागबन्डालाई नै बढवा दिए ।

आफू विरोधी नेतालाई भागबन्डाले नै मुख थुन्ने काम गरे । केन्द्रीय समितिमा सभापति देउवा समूहको बहुमत छ । यही बहुमतको बलमा उनी अर्को समूहलाई पेलेरै निर्णय गर्दै आएका छन् । यसअघिको केन्द्रीय समिति बैठकले ०७७ फागुनमा महाधिवेशन गर्ने बहुमतको बलमा निर्णय भयो । जुन बैठकले विवादै–विवादको भुमरीमा अल्झिएको नेविसंघ र तरुण दलको म्याद थप्ने विषयमा समेत निर्णय भयो । उक्त बैठक असन्तुष्ट समूहका नेताले बहिस्कार नै गर्नुपर्ने अवस्था आयो ।
यही विषयले अहिले कांग्रेसमा रडाको मचिएको छ । असन्तुष्ट समूहले देउवालाई दबाब दिन ४४ जिल्लाका सभापति काठमाडौंमा पोलायो । कांग्रेसमा यसरी जिल्ला सभापतिको भेला बोलाउन केन्द्रीय समितिले नै निर्णय गर्नुपर्छ । तसर्थ कतिपयले यसलाई पार्टीभित्रको समानान्तर गतिविधिको संज्ञा पनि दिएका छन् ।
देउवा समूहका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा वार्ताका लागि कार्यदल बनाइएको छ । उक्त कार्यदलले पनि ठोस् निष्कर्ष निकाल्न सकेको छैन । कतिपयले कांग्रेसका नेतामा आपसको दम्बले पनि नेताबीच बेमेलको अवस्था आएको बताउँछन् । पार्टीमा सभापति समूहका केही नेता असन्तुष्ट समूहलाई सहमतिमा ल्याउनुको सट्टा उल्टै बिच्क्याउने गरेका छन् । उनीहरू पहिला गिरिजाप्रसाद कोइरालाले पनि देउवालाई पार्टी फुटाउन बाध्य बनाएको भन्दै पार्टी फुटाए पनि फरक नपर्ने चुनौती दिँदै आएका छन् । तर, कांग्रेस अहिले दरबिलो बन्न सके मात्रै आउने चुनावमा राम्रो मत पाउन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
सुविधाजनक बहुमत रहेको नेकपा नेतृत्वको सरकारले जनअपेक्षिकृ काम गर्न सकेको छैन । जताततै विरोध र निरासाका आवाज मात्रै सुनिन्छन् । संसद्मा ल्याएका विधेयकमार्फत संविधानले दिएका अधिकार पनि कुण्ठित पार्न खोजेको पाइन्छ । यो बेला प्रमुख प्रतिपक्षी दलको हैसियतबाट कांग्रेसले जनताको विरोधको आवाजलाई सडकदेखि सदनसम्म पु¥याउनुपर्ने हो । प्रतिपक्षमा रहेका अन्य पार्टीसँग पनि मोर्चाबन्दी गर्दै आन्दोलनमा होमिनुपर्ने हो । तर, कांग्रेस आन्तरिक खिचातानी र भागबन्डामै रमाइरहेका छ । यो कांग्रेसको आगामी भविष्यका लागि राम्रो हुँदैन ।
नेताहरूको दौडाहा
सभापति देउवाले ०७७ फागुनमा १४ औं महाधिवेशनको मिति तोकेका छन् । भलै असन्तुष्ट समूहले यो निर्णय स्वीकार गरेको छैन । तैपनि एकवर्षभित्र महाधिवेशन गर्दै पर्ने वैधानिक दबाब कांग्रेसमा छन् । त्यसकारण शीर्ष नेताहरूलाई महाधिवेशनको ‘राप’ले छोइसकेको छ । शीर्ष नेता आफूलाई महाधिवेशनको उम्मेदवार घोषणा गर्दै जिल्लादेखि गाउँ तहसम्म कार्यकर्ता रिझाउन व्यस्त छन् ।
यही क्रममा झापामा पनि केही शीर्ष नेताहरू आइपुगेका छन् । तेस्रो धारका नेता सिटौला र पार्टी प्रवक्ता तथा आउँदो महाधिवेशनमा महामन्त्रीको दाबेदार विश्वप्रकाश शर्माको गृहजिल्लामा आएर केही शीर्ष नेता कार्यकर्ता फकाउनतर्फ लागेका छन् । आफू आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार भएको दाबी गर्ने महामन्त्री डा. शशांक कोइराला, रामचन्द्र पौडेलका निकट मानिने नविन्द्रराज जोशीले झापामा आन्तरिक छलफल गरेका छन् । सभापतिका अर्का दाबेदार डा. शेखर कोइरालाले विराटनगरस्थित निवासमा झापाका कार्यकर्ताहरुलाई उच्च प्राथमिकतासाथ भेट दिएर महाधिवेशन लक्षित भेटघाट गरे । पार्टीभित्र प्रभावशाली र चर्चामा रहेका नेता गगन थापाले पनि केही महिनाअघि झापा आएर कार्यकर्तासँग भेटघाट गरे । उनी सिटौला समूहका नेता हुन् । कोइराला परिवारनिकट दीपक गिरी पनि झापा आएका थिए ।
जसले गर्दा प्रभावशाली नेता सिटौलामा दबाब सृजना भएको छ । आफ्नै जिल्लामा आएर महामन्त्री कोइरालालगायत नेताले महाधिवेशन केन्द्रित कार्यकर्ता भेटघाट गर्न थालेपछि उनीमाथि दबाब बढेको छ । महामन्त्री कोइरालाले झापा आएर सिटौलाप्रति त अविश्वास नै प्रकट गरे । अहिले पार्टीको प्रतिपक्षी खेमामा रहेका सिटौला जतिबेला जहाँ पनि जान सक्ने बताए । अघिल्लो महाधिवेशनमा पूर्वसंस्थापनलाई सहयोग नगरेका कारण महामन्त्री कोइरालाले यसपटक पनि सिटौलाप्रति अविश्वस व्यक्त गरेका हुन् । ‘सिटौला माहिर राजनीतिज्ञ हो । अहिले हामीसँगै हुनुहुन्छ’, उनले भने, ‘तर, उहाँ कहाँ जानुहुन्छ थाहै हुँदैन । हामीसँगै राख्ने प्रयत्नमा छौं ।’ उनले आउने महाधिवेशनमा देउवालाई रोक्न असन्तुष्ट खेमाका नेताहरू एक हुनुको विकल्प नरहेको बताए ।
संकटमा सिटौला
तेस्रो धारका नेता सिटौला कांग्रेसमा भएका अहिलेका नेतालाई आफ्नो नेतृत्व नै स्वीकार गर्दैनन् । उनी देउवा आफ्नो गुटभन्दा माथि उठ्न नसकेको र वरिष्ठ नेता पौडेलसँग नेतृत्व गर्न सक्ने क्षमता नै नभएको दाबी गर्छन् । सिटौला शशांकलाई सभापति बान्ने पक्षमा छैनन् । अनौपचारिक छलफलमा उनी शशांक ‘जुनियर’ भएको दाबी गर्छन् । बरू शेखरलाई आउँदो महाधिवेशनमा अघि सार्न सक्ने उनको संकेत छ ।
तर, अहिले उनको समूह पनि संकटमा छ । पछिल्लो समय वरिष्ठ नेता पौडेलसहितको समूहमा सहकार्य गरेपछि सिटौला समूहमा मतभेद सुरु भएको छ । सिटौला समूहका केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिव हुमागाईँ पौडेल पक्षसँग सहकार्य नगर्ने पक्षमा छन् । सिटौला पौडेल समूहमा सहकार्य गर्न पुगे उनीहरू देउवा समूहमा जाने चेतावी दिँदै आएका छन् ।
विश्वप्रकाशलाई झापाको नजर
झापामा अर्का उदयमान नेता हुन्, विश्वप्रकाश शर्मा । विद्यार्थी राजनीतिबाट उदायका शर्मा भाषण कलाका कारण चर्चामा छन् । तर, उनी राजनीतिमा सधैं असफल । संसदीय निर्वाचनमा उनले कहिल्यै जीत निकाल्न सकेका छैनन् । सभापतिले प्रवक्ता बनाएपछि उनी अहिले निकै चर्चा आउँछन् ।
कुनै बेला पार्टीमा आश लाग्ने युवाको रूपमा रहेका उनी अहिले युवाको ‘रोल मोडल’ भन्दा बाहिर पुगिसके । कुनै बेला झापामा भाषण गर्दा उनी भन्ने गर्थे, ‘कांग्रेस मरेको छैन, अन्तिम अवस्थामा छ । यसलाई अस्पताल लाने कि आर्याघाट लाने युवाले सोचौं ।’ तर, अहिले विश्वप्रकाश शर्मामा गुटकै फेरो समाएर रमाइरहेका छन् । अहिले विश्वप्रकाशलाई देउवाले गरेका कमजोरी ढाकछोप गर्न भ्याइनभ्याई छ ।