दमक/दमक ८ स्थित बालुवाटारका २० बर्षिय उत्तम नेपाल अध्ययनका लागि जापान गएपनि ब्लड क्यान्सरका कारण पीडित भएपछि परिवारमा चिन्ता थपिएको छ । नेपाल करीब १७ महिना अघि दशैंको सन्मुखमा अध्ययनका लागि १४ लाख रुपैयाँ तिरेर जापान गएका थिए ।


उत्तमका बुबा वेद प्रसाद नेपालले ऋण काढेर पठाएको कान्छो छोरालाई ब्लड क्यान्सर भएको एक महिना अघि मात्रै आफुले थाहा पाएको बताए । उनले भने– पढेर पैसा पनि कमाउन सक्छु बुबा भनेपनि ऋण काडेर छोरोलाई पठाएँ, अस्ति भर्खर छोरी ममताले फोन गर्दा थाहा भयो उसलाई त क्यान्सर पो भइसकेको रहेछ । उनका अनुसार छोरी ममता नेपाल (न्यौपाने) दुई बर्षदेखि स परिवार जापानमा छिन् ।
अहिले सम्म त छोराले कमाएको उसकै पढाईमा ठिक्क हुँदै थियो अब केही गर्ला कि भन्ने आश थियो, क्यान्सरनै भइदिएछ – वेद प्रसादले दुखेसो सुनाए । जापानको योकमा शहरमा रहेको एक कलेजमा अध्ययनका लागि उत्तम त्यहाँ पुगेका थिए । कलेज पढ्न र पैसा कमाउन गएको छोरो हस्पिटलमा छटपटीरहेको खबर सुन्दा कसको मन थामिन्छ र ? ऋणको भारले पिरोलिएका नेपाल परिवारको पीडामा मल्हम पट्टी लगाउने अभियानमा जुटेका छन उत्तमका साथीसंगीहरु ।
दमकका पूर्व विद्यार्थी भएका कारण उनको उपचारका लागि दमक क्याम्पसका विद्यार्थीहरुले उत्तम बचाउ अभियान शुरु गरेका छन् । नेपाल परिवारको आर्थिक अवस्था र परिस्थितीका कारण उनको उपचारमा सहयोग पुरयाउन उत्तम बचाउ अभियान गठन गरेर सहयोग संकलनका लागि आवश्यक बन्दोबस्ती मिलाइएको अभियानमा जुटेका दमक बहुमुखी क्याम्पसका विद्यार्थी विशाल सिटौला बताउँछन् ।

Facebook Comments Box