विसं २०१७ असार १७ गते पाँचथरको गोपेटारमा आमा लक्षीमा र बुबा नारदमणी सापकोटाको माइलो छोराका रुपमा जन्मिएका प्रजापति सापकोटाको दमकमा बसोबास हजुरआमा जशोदा सापकोटा र हजुरबुबा हरिनारायण सापकोटासंग २०२२ साल अर्थात ५ बर्षको हुँदा देखिनै शुरु भएको हो । दमकको भाङबारीमा हजुरबुबाले पहाडबाट आएर किन्नु भएको घर खेतमा थिगिरे गरेर नै हुर्किनु भएको हो सापकोटा ।
साँच्चै भन्ने हो भने मलाई हजुरआमाले नै हात समातेर स्कूल पठाउनु भएको हो बेलडाँगीको सरस्वती निमाविमा कखरा सिक्दाको क्षण अझै स्मरणमा छ सापकोटालाई । सापकोटा परिवार उ बेलादेखिनै दमकको हुने खाने परिवारका रुपमा चिनिन्थ्यो । मलाई थाहा भएसम्म १७ विगाहा जग्गा हजुरबुबाले लिनु भएको रहेछ– सापकोटाले भन्नु भयो ।

सरस्वती निमाविबाट प्रारम्भिक शिक्षा शुरु गर्नुभएका सापकोटाले एसएलसी २०३८ सालमा हिमाविबाट पास गर्नुभएको हो । विद्यार्थी उमेरमै उहाँ वामपन्थी विद्यार्थी संगठन मार्फत जानी नजानी राजनीतिमा होमिनु भएको हो सापकोटा । सापकोटा भन्नु हुन्छ –२०३६ सालदेखि नै म राजनीतिमा लागेको हँु । पार्टी सदस्यता चाहिं २०४६ सालमा तत्कालिन नेकपा मालेको लिनु भयो उहाँले ।
विचारले वामपन्थी सापकोटा २०४२÷०४३ सालतिर भएको नगर पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेद्वार बनेर वडा सदस्यमा निर्वाचित हुनुभयो ।

जनप्रतिनिधिको जिम्मेवारी लगत्तै उहाँले त्यसबेला लगभग २०४९ सालतिर यातायात क्षेत्रको व्यवसायमा हात हाल्नु भयो । त्यसबेला कम संख्यामा सार्वजनिक यातायातका साधन हुँदा त्यस्ता सवारी साधनको महत्व निक्कै थियो । यातायात व्यवसायीका रुपमा रहँदा २०५४ सालतिर सापकोटा कोशी यातायात व्यवसायी संघको सदस्य हुनुहुन्थ्यो । त्यसपछि क्रमश उनी पूर्वाञ्चल यातायात संघको उपाध्यक्षका रुपमा २०५८ मा निर्वाचित भई लगातार २०७३ साल सम्म सो जिम्मेवारीबहन गर्नुभयो । यातायात व्यवसायीका रुपमा सक्रिय भएपनि उहाँले राजनीतिक रुपमा तत्कालिन नेकपा एमालेको २०५० देखि २०५२ सम्म १७ नं इलाका कमिटी सदस्य भएर पार्टी जिम्मेवारी सम्हाल्नु भयो ।

त्यसबीचको २०५५ देखि २०६७ सम्म दमक २ को वडा सचिव , २०६२ देखी २०७३ सम्म वडाको सर्वदलीय संयन्त्र सदस्यको रुपमा रहेर जिम्मेवारी बहन गर्नुभयो । सो अवधि भित्रै २०७२ देखि पार्टीको क्षेत्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएका सापकोटा २०७३ सालको स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका वडा नं २ को वडाध्यक्षमा निर्वाचित हुनुभई दोश्रो पटक शक्तिशाली अर्थात अधिकार सम्पन्न जनप्रतिनिधि बन्नु भयो । वडाध्यक्षमा १ हजार १ सय ५२ मत ल्याएर विजयी हुनुभएका सापकोटाको परिचय अहिले सफल राजनीतिक, सामाजिक र व्यवसायीका रुपमा स्थापित भएको छ । राजनीतिक रुपमा उहाँ अहिले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपाको वडा सदस्यका रुपमा हुनुहुन्छ ।

निर्वाचित वडाध्यक्ष भएपनि यातायात क्षेत्रमा क्रियाशीलता र अनुभवका आधारमा उहाँले वडाध्यक्षको जिम्मेवारी संगसंगै दमकको यातायात तथा ट्राफिक व्यवस्थापन समिति संयोजकको पनि जिम्मेवारी पाउनु भएको छ ।
सापकोटा पछिल्लो समय दमक नगरपालिका अर्थात स्थानीय सरकारले जारी गर्ने यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धि कार्यविधि अर्थात कानुन निर्माणमा समेत सक्रिय हुनुहुन्छ ।

सापकोटा भन्नु हुन्छ – बोर्ड बैठकले यातायात र ट्राफिक व्यवस्थापनको जिम्मेवारी प्रदान गरेसंगै हामीले यो क्षेत्रमा सक्रियता बढाएका छौं । हुन त म पहिलादेखि नै एउटा यातायात व्यवसायी पनि हुनुका नाताले यहाँको यातायात सम्बन्धिको समस्या , आवश्यकता र यसको व्यवस्थापनका बिषयमा जानकार भएकै हो । तर पनि पहिला यातायात सम्बन्धि स्थानीय सरकारको आफ्नै कानुन बनाउने व्यवस्था थिएन । यातायात व्यवस्था विभागले जारी गरेको र ट्राफिक प्रहरीको विभागीय व्यवस्था अनुसार काम भईरहेको थियो ।
अहिले हामी परिवर्तनपछि नयाँ नेपालमा प्रवेश गर्दै गर्दा स्थानीय तहमै कार्यविधिहरु बनाएर लागू गर्न सकिने व्यवस्था भएकाले यहाँको ठाउँ परिस्थिती र आवश्यकता अनुसारको कानुन बनाउन छलफलका क्रममा छौं । छिट्टै यस सम्बन्धि कानुन निर्माण गरी दमकलाई यातायात तथा ट्राफिक व्यवस्थापका दृष्टिकोणबाट सुदृढ र व्यवस्थित नगरका रुपमा विकास गर्न चाहन्छौं ।

सरकार र पार्टीलाई सुझाव
स्थानीय, प्रदेश र संघीय सरकारमा समेत नेकपाको बलियो पहुँच भएपनि वर्तमान सरकारका कतिपय निर्णयहरु र काम कारवाहीप्रति एउटा असल जनप्रतिनिधि हुनुका नाताले सुधार गर्नुपर्ने कुराहरु पनि छन – भन्नु हुन्छ सापकोटा । सापकोटाका विचारमा सरकारले तत्कालै भुमी सम्बन्धिमा केहि ठोस र व्यवहारिक निर्णय लिनुपर्ने हुन्छ । बर्षौदेखि जग्गाको स्वामित्व पाउन नसकेका सर्वसाधारणलाई जोतभोगका आधारमा जग्गाको स्वामित्व अर्थात जग्गा धनीपूर्जा दिने व्यवस्था सरकारले गर्नुपर्ने उनको सुझाव छ । मालपोत र नापी कार्यालयमा सेवाग्राहीले पाउनुपर्ने सेवा चुस्त, पारदर्शी र प्रभावकारी बनाउनका लागि नीतिगत रुपमा नै सरकारले अहिले लिदैं आएको १० लाख भन्दा बढीको घर जग्गा किनबेचमा लगाइने लाभकरको लागि मुल्यको सिमा अंक बढाएर ५० लाख सम्म कायम गनुपर्ने र जग्गाको मुल्याङकन निर्धारण गर्ने अधिकार वडा समितिलाई नै दिनुपर्ने उहाँको सुझाव छ । त्यसो गर्न सकिए मात्रै जग्गाको किनबेचका सिलसिलामा हुने राजश्व छली नियन्त्रण हुनुका साथै व्यवहारिक समेत हुने उहाँको तर्क छ । त्यसैगरी यातायातका क्षेत्रमा रहेका विकृति विसंगती हटाएर राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिने यातायात व्यवसाय क्षेत्रलाई सरकारले सम्बन्धित विज्ञ तथा जानकारहरुसहितको एउटा आयोग नै बनाएर त्यसै मार्फत यातायात क्षेत्र सञ्चालन गर्नुपर्ने वडाध्यक्ष सापकोटाको सुझाव छ ।

Facebook Comments Box