दमक/ झापाको दमक ८ मा कार्यालय सञ्चालन गर्दै ११ बर्षदेखि कारोबार गर्दै आएको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आजदेखि आफ्नै भवनबाट कारोबार शुरु गरेको छ ।

संस्थाले दमक ६ स्थित बेलडाँगी रोडमा आफ्नै स्वामित्वको साढे चार तलाको स्वर्णलक्ष्मी कम्प्लेक्स ( भवन) तयार गरी सो भवनबाट आजदेखि कारोबार शुरु गरेको हो । कोरोना संक्रमणका कारण आफना सबै सदस्यहरुलाई समेत एकैपटक उपस्थित नगराई कारोबार शुरु गर्नुपरेको संस्थाका व्यवस्थापक कमल प्रसाद घिमिरेले जानकारी दिनु भयो । बैदिक विधी अनुसार पूजापाठ गरेर कार्यालय भवनमा कारोबार शुभारम्भ गरिएको हो ।

उहाँका अनुसार भवन निर्माणमा हाल सम्म करीब पौने ३ करोड रुपैयाँ खर्च भएको र आशिंक काम बाँकी रहेकोले थप २५ लाखको लागतमा निर्माणले पूर्णता पाउनेछ । संस्थाका करिब ४ हजार ७ सय सदस्यहरुको योगदानबाटनै आफ्नै कार्यालय भवन सूचारु गर्न सफल भएको भन्दै संस्थाका अध्यक्ष रवि केसीले संस्थाको सफलतामा सबै शेयर सदस्य, कर्मचारी र सञ्चालक समिति, उपसमितिहरुको महत्वपूर्ण हात रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । सो संस्थामा हाल २७ जनाले प्रत्यक्ष रोजगारीको अवसर पाईरहेका छन भने बार्षिक ७७ करोड ४५ लाख बराबरको कारोबार गर्न सफल भएको आज आयोजित संक्षिप्त कार्यक्रममा जानकारी गराइयो ।