एजेन्सी/ एकैदिन विश्वभर कोरानाका नयाँ विरामी र ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै धेरै पुगेको छ ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार हिजो मात्रै २ लाख ६० हजार जना नयाँ बिरामी थपिँदा ७ हजार ३ सय ६० जनाको ज्यान गएको छ । सबैभन्दा धेरै सङ्क्रमित संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा भेटिएका छन् । अमेरिकामा मात्रै अहिलेसम्म ३८ लाख ३३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा १ लाख ४२ हजार जनाको ज्यान गएको छ । १७ लाख ७५ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । यस्तै ब्राजिलमा २० लाख ७५ हजार जनामा कोरोना सङ्क्रमण भएको छ ।
साढे ७८ हजार जनाको ज्यान जाँदा १३ लाख ६६ हजार जना भने निको भएका छन् । यसैगरी भारतमा १० लाख ७७ हजारमा कोरोना पुष्टि हुँदा साढे २६ हजार जनाको ज्यान गएको छ । ६ लाख ७७ हजार भने उपचारपछि निको भएका छन् ।
दक्षिण अफ्रिकामा साढे ३ लाखमा कोरोना सङ्क्रमण हुँदा साढे ४ हजारको ज्यान गएको छ । त्यहाँ १ लाख ८२ हजार निको भएका छन् । विश्वभर कोरोनाबाट निको हुनेको संख्या ८६ लाख नाघेको छ । एक करोड ४४ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ८६ लाख ११ हजार ६ सय ५७ जना निको भएको वल्डोमिटरले जनाएको छ । कोरोनाका कारण अहिलेसम्म ६ लाखभन्दा धेरैको भने ज्यान गएको छ ।