काँकरभिट्टा/ लोप हुँदै गएको मानिने कबड्डी खेलमा झापा एक नम्बर प्रदेशकै च्याम्पियन बनेको छ । काँकरभट्टामा भएको एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा झापा अन्य १३ जिल्लालाई पछि पार्दै च्याम्पियन बनेको हो ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा गत मंगलबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको आज (शुक्रबार) सम्पन्न फाइनल खेलमा मोरङले दोस्रो स्थान हाँसिल गरेको छ ।
प्रदेशभरबाट १ सय २६ जना खेलाडी सहभागी प्रतियोगितामा ताप्लेजुङ र सोलुखोम्बु तेस्रो भएका प्रतियोगिताका निर्णायक संयोजक रतिया राजवंशीले बताए ।
प्रतियोगिताको विजेता टिम झापाले पुरस्कारस्वरुप नगदराशी १ लाख तथा उपविजेता बनेको मोरङले ५० हजार रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।
उक्त खेल अवधिभरको उत्कृष्ट रेडर झापाका धिरज चौधरी, उत्कृष्ट डिफेन्डर झापाका अमृत मेचे, उत्कृष्ट क्याचर सोलुखोम्बुका वीर बस्नेत, उत्कृष्ट बोनस मोरङका बविस थापा मगर र उत्कृष्ट खेलाडी मोरङका निकेश राजवंशी घोषित भए ।
खेलको ५ विधाका उत्कृष्ट खेलाडीहरुलाई जनही ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको र प्रतियोगिता सम्पन्न गर्न सहयोगी भूमिका निर्वाह गर्ने विभिन्न व्यक्ति एवँ संघसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन कार्यक्रमका सभापति एवँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, सदस्य पूर्णकुमार सिटौला, ज्ञानेन्द्र राई, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनालीलगायतले पुरस्कत गरेका थिए ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले व्यवस्थापन गरेको सो प्रतियोगिताको स्थानीय व्यवस्थापन झापा जिल्ला खेलकुद विकास समितिले गरेको थियो ।

Facebook Comments Box