
मनोज खुलाल
राजनीतिमा वीपी कोइराला साहित्यमा विश्वेश्वर प्रसाद कोइराला । व्यक्ति उही नाम फरक । वीपी कोइरालालाई एउटा राजनीतिक प्राणीका रुपमा मात्रै परिभाषित गर्दा उहाँमाथि अन्याय हुन्छ । उहाँको योगदान नेपाली साहित्यमा पनि उत्तिकै छ ।
आज भन्दा १०७ बर्ष अघि भारतको बनारसमा जन्मिएर नेपाल र नेपालीलाई जहाँनिया राणा शासनबाट मुक्ति दिलाउने सपनासहित उहाँले नेपाली कांग्रेसको स्थापना गर्नुभएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका महासेनानी , पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइराला देशमा मात्रै नभएर अन्तरास्ट्रियस्तरमा नै पथप्रदर्शकका रुपमा चिनिनुहुन्छ ।
राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिक चिन्तक तथा विचारक कोइरालाको अग्रसरतामानै बि .सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो ।

पछि विसं २००६ मा सुवर्णशम्शेरको नेतृत्वमा स्थापना भएको नेपाली प्रजातान्त्रिक कांग्रेससँग राष्ट्रिय कांग्रेस एकीकरण भएको थियो । जसको सफल नेतृत्व कोइरालाले आफैंले गर्नु भएको थियो ।
नेपाली कांग्रेस पार्टीको घोषणापत्र स्वयं वीपीलेनै लेख्नु भएको थियो । बि .सं.२०१२ मा लेख्नु भएको पार्टीको घोषणा पत्रमा प्रजातान्त्रिक समाजवाद नै पार्टीको दीर्घकालीन उद्देश्य र लक्ष्य भएको चर्चा गर्नु भएको छ ।
पुँजीवादी शाशन प्रणाली भएका मुलुकहरुको विषम आर्थिक स्थिति (ब्यक्तिको शोषण ) र साम्यवादी मुलुकहरुमा एक ब्यक्ति वा एकदलीय शासन प्रणालीद्वारा हुने राज्य शोषणबाट ब्यक्ति र राष्ट्रको बिकास हुन नसक्ने हुँदा धनी र गरीबबिचको फाटो हटाउन बहुदलीय शासन प्रणालीमा जनतलाई मौलिक अधिकारहरु प्रदान गर्न लिङ्ग, बर्ण , जात ,जाति ,धर्म , सम्प्रदाय ,भाषा भाषिकाहरुको विवादबाट माथी उठेर राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ गर्दै गाँस, बास, कपास, शिक्षा ,स्वास्थ्य आदि जनताको न्युनतम आवश्यकताहरु परिपूर्ति गर्ने भनी वीपीद्वारा प्रतिपादित आर्थिक राजनीतिक कार्यक्रम नै प्रजातान्त्रिक समाजवाद हो ।
विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर उहाँ पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल त हुनु भयो तर विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गर्दै सुन्दरीजल बन्दीगृहमा राखिदियो । एउटा मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्रीलाई नै अपदस्थ गरेर जेलमा कोच्ने हिम्मत राजाहरुले गरेपनि उहाँ डगमगाउनु भएन । विसं २०१७ देखि ०२५ सालसम्म उहाँले सुन्दरीजलस्थित बन्दीगृहमा बन्दी जिवन बिताउनु भयो ।
साहित्य तर्फ ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् ।
आज उहाँ हामीसामु नरहे पनि उहाँका बिचारहरु हामीमाझ जीवन्त रहिरहेका छन । जय नेपाल ( खुलाल नेपाली कांग्रेसका य’वा नेता तथा शिवसताक्षी ६ का निर्वाचित वडाध्यक्ष हुन ।