दमक/आज असोज १ गते । आजको दिन हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मा बाबाको विशेष महत्वका साथ पुजाआजा गर्ने गर्छन । फलाम तथा फलामजन्य सामानहरुलाई आजको दिन पहिलो प्राथमिकतामा राखेर पूजा आरधना गर्ने चलन रहि आएको छ ।
यसो गर्नाले विश्वकर्मा बाबा खुशी हुने र ति सामाग्रीहरुको माध्यमबाट धेरै धन आर्जन गर्न सकिने तथा सवारी साधनहरु घटना दुर्घटनामा नपर्ने पनि जनविश्वास रहि आएको छ ।
आजको दिनलाई त्यस्ता सामाग्रीहरुको खरिद बिक्री गर्ने शुभ दिनका रुपमा पनि लिइन्छ । यातायात तथा अन्य क्षेत्रका संगठित असंगठित मजदुरहरुले पनि आज ति त्यस्ता फलामका औजार उपकरणहरुको पूजाआजाका लागि संस्थागत रुपमै विशेष कार्यक्रमहरु गर्ने गरेका छन् ।
यद्यपी यस बर्ष सार्वजनिक यातायातका साधनहरु भने ६ महिना अघिदेखि थन्किँदा यस क्षेत्रमा रहेको लगानीनै जोखिममा परेको छ । कतिपय ठाउँमा राखिएका विशेष गरि बसहरु लामो समयदेखि कोरोना संक्रमणका कारण सञ्चालनमा रोक लगाइँदा खिया परेका छन । बसमाथि लौका, घिरौलाको बोट झांगिएका दृश्यहरु ठाउँ ठाउँमा देख्न पाइन्छ । यस क्षेत्रमा कार्यरत मजदुरहरुको ठुलो संख्या बेरोजगार हुँदा दैनिक जीवनयापनमा नै समस्या छ ।