दमक/किराँत राई यायोक्खा झापाको सर्कुलरमा साकेला उभौंली पर्वको अवसरमा स्थानीय प्रारम्भिक समितिहरुले प्रारम्भिक तहमा सञ्चालन गरेको साकेला सिली ( नाच) आज जिल्लास्तरीय प्रतियोगिता गरेर समापन गरिएको छ ।

कमलस्थित सितापुरी साकेला थानमा प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यमा भव्य कार्यक्रमका बीच साकेला सिली समापन गरिएको हो ।
सो अवसरमा जिल्लाका दुई दर्जन बढी प्रारम्भिक समितिहरुबाट आएको किराँत राईहरुको साँस्कृतिक टोलीले आलोपालो आआफ्नो कला प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रमकै अवसरमा २ जना सफल युवा उद्यमीहरुलाई सम्मान समेत गरिएको यायोक्खा झापाका सहसचिव सुसन राईले जानकारी दिए । कार्यक्रममा कमलका स्थानीय युवा उद्यमी सञ्जिव कुलुङ र विर्तामोड सैनिकका युवा उद्यमी तथा राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७४ बाट समेत पुरस्कृत भएका उद्यमी विशाल राईलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ झापाका तत्कालिन अध्यक्ष पारसमणी राई , किराँत राई यायोक्खाका संस्थापक उपाध्यक्ष जितमान राई, जिल्ला सल्लाहकार सुमित्रा वाङदेल चेली , बिद्यार्थी नेता रामचन्द्र राई र एम बि राइ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङको अध्यक्षतामा भएको थियो ।

Facebook Comments Box