दमक/ झापाको दमकमा यस अघि दुई दिन सम्म नमुना संकलन गरेर कोरोना परिक्षणका लागि पठाइएको ३५० भन्दा धेरै जनाको स्वावको आधिकारिक रिपोर्ट बाहिर आउन सकेको छैन ।
नगरपालिकाको स्वास्थ्य शाखा निरिक्षक बद्री बरालले नगरपालिका क्षेत्रबाट आफूहरुले संकलन गरेर पठाएको स्वावको रिपोर्ट अहिले सम्म प्राप्त नभएको निष्कर्ष न्यूजलाई बताए । उनले भने– हामीले यहाँबाट पठाएको नमुनाको रिपोर्ट अहिलेसम्म आएको छैन । आधिकारिक रिपोर्ट प्राप्त भइसकेको नभए पनि दमकमा पछिल्लो समय कोरोना पोजिटिभ देखिएकाहरुलाई सम्बन्धित निकायले जानकारी गराइसकेको छ । त्यस्तो संख्या कति हो भन्ने यकिन सार्वजनिक भएको छैन । संक्रमितहरु अधिकांश होम आइसोलेसनमा छन ।
दमकमा यस अघिको तुलनामा ठुलो संख्यामा स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएको नतिजा दमकका लागि त्यति सुखद हुन नसक्ने अनुमान स्वास्थ्य क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मीहरुले नै गर्दै आएका छन ।
गत बिहिबार सम्ममा प्राप्त रिपोर्ट अनुसार नगरमा हाल सम्म १८९ जनामा कोरोना संक्रमण देखिइसकेको छ । ति मध्ये १५५ जनाले कोरोना जितेका छन भने एक संक्रमित महिलाले कोरोनासंग हारेर ज्यान गुमाइसकेकी छिन । दमकमा हाल सक्रिय संक्रमितको संख्या ३३ रहेको जनाइएको छ । ति मध्ये २५ जना होम आइसोलेसनमै उपचाररत छन ।
संक्रमितहरु मध्ये नगर प्रमुख रोमनाथ ओलीसहित ३ जना जनप्रतिनिधि छन । स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी, कर्मचारीदेखि सर्वसाधारण सम्म कोरोनाबाट पीडित छन ।