लखनपुर/झापाको कमल ५ लखनपुरमा किराँतीहरुले उभौली पर्वका अवसरमा साकेला थानमा साकेला नाच प्रस्तुत गर्दै आएको परम्परागत साकेला नाचलाई यस बर्षपनि प्रस्तुत गरेर निरन्तरता दिएका छन् ।
शनिबार ( आज) पाडाजुँगी र सितापुरी चोक बीचमा रहेको किराँतीहरुको समाधिस्थल नजिकै किराँत राई यायोक्खा साविक लखनपुर गाउँ प्रारम्भिक समितिले साकेला थानमा परम्परागत पूजाआजासहित नाच प्रस्तुत गरेको हो ।
सो अवसरमा यायोक्खा दमक नगर समिति र कमलका गरी कूल ३ वटा चण्डी नाच टोलीले परम्परागत शैलीमा सोई ढोले सोई….भन्दै नाच प्रस्तुत गरेका थिए । युवा युवतीहरु परम्परागत भेषभुषामा बाजागाजा सहित नाच प्रस्तुत गरेको दृश्य मनमोहक थियो ।
किराँत राई यायोक्खा झापाकी सहकोषाध्यक्ष कौशिला राईको प्रमुख आतिथ्य र प्रारम्भिक समितिका अध्यक्ष तारापति राईको अध्यक्षतामा भएको कार्यक्रममा यायोक्खा दमक नगर अध्यक्ष बासुदेव राई, सामाजिक व्यक्तित्व महेन्द्र चाम्लिङ लगायत कमल र दमकका यायोक्खाका अगुवाहरुको विशेष आतिथ्य रहेको थियो ।