दमक/समाज सुधारकका रुपमा चिनिएका नेपालका राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज (मंगलबार) विशेष महत्वका साथ मनाइने गरेको छ । किरात धर्मावलम्बीहरूमाझ विशेष महत्व पूर्वक मनाइने उनको जन्मजयन्तीका अवसरमा यस बर्ष औपचारिक कार्यक्रमहरु नराखिएपनि उनका शालिकहरुमा गई पूजा आराधना गरि श्रद्धा गर्ने क्रमलाई भने अनुयायीहरुले निरन्तरता दिएका छन ।
नेपाल सरकारले २०६६ मंसिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । लिङ्देनको जन्मस्थान प्रदेश १ अन्तर्गतको इलामको माङ्सेबुङ गाउँपालिका २ इभाङस्थित चुम्चिनाम्बा हो । त्यहा जन्मजयन्ती विशेष पूजा र विभिन्न खेलकुद कार्यक्रमहरु सहित मनाइने गरिन्थ्यो ।
जन्मजयन्तीको अवसरमा मंगलबार प्रदेश १ मा सार्वजनिक बिदा समेत दिइएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमलबहादुर थापाले फाल्गुनन्द जयन्तीका दिन प्रदेश भरी बिदा दिने निर्णय गरेको प्रदेशको राजपत्रमा नै उल्लेख गरिएको जनाए ।
फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते आइतबार भएको थियो । उनले किरात धर्मावलम्बीहरूको मुन्धुमलाई लिखित रूपमा ल्याउन सुरुआत गरेका थिए ।
उनको पहलमा पाचथरको चोकमागुमा १९८८ सालमा गरिएको बृहत् भेलाले ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ।
राष्ट्रपतिले दिइन सन्देश
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छिन । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने जनाउदै राष्ट्रपतिले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उहाको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास पनि व्यक्त गरेकी छिन ।

Facebook Comments Box