दमक/ झापाको कमल ५ साविक लखनपुरमा १३ बर्ष अघि स्थापना भएको लगनशील कृषि सहकारी संस्थाले यस बर्ष पहिलो पटक आफनै नवनिर्मित भवनमा बार्षिक साधारण सभा गरेको छ ।

संस्थाले यस अघि आफनै भवनको अभावमा अन्य सभा हलहरु भाडामा लिएर साधारण सभा सञ्चालन गर्दै आएकोमा यस बर्ष पहिलो पटक १३ औं बार्षिक साधारण सभा आफनै भवनमा गर्न सफल भएको हो । संस्थाले यस अघिनै सदस्यहरुलाई सार्वजनिक सूचना मार्फत सहकारीको गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन उपलब्ध गराएर सदस्यहरुबाट सुझाव संकलन समेत गरेको थियो ।
आज भवनमा आयोजित सक्षिंप्त औपचारिक कार्यक्रममा बर्षका उत्कृष्ट शेयर सदस्य, तथा उत्कृष्ट किसानहरुलाई पुरस्कृत गर्दै साधारण सभा सम्पन्न गरेको व्यवस्थापक तिलक कार्कीले जानकारी दिए । संस्थाका अध्यक्ष लाल बहादुर विष्टको अध्यक्षता र कमल ५ का वडाध्यक्ष डम्बर निरौलाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा सहकारी समन्वय समिति कमल ५ का अध्यक्ष बालकृष्ण गौतम, चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाकी सचिव भोजकुमार राई, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी अध्यक्ष उषा भण्डारी लगायतको आतिथ्य रहेको थियो । संस्थाका उपाध्यक्ष गोविन्द खनालले स्वागत मन्तव्य राखेको समापन कार्यक्रमको सञ्चालन सचिव भिष्मप्रसाद सिटौलाले गरेका थिए ।
किसानका लागि लोकप्रिय कार्यक्रम
यसैबीच सो संस्थाले हरेक बर्ष संस्थाका सदस्य कृषकहरुलाई व्यवसायिक कृषि क्षेत्रमा प्रोत्साहनका लागि ल्याउदै आएका किसानलाई प्रत्यक्ष लाभान्वित हुने किसिमका कार्यक्रमहरुलाई यस बर्ष पनि निरन्तरता दिएको छ । अध्यक्ष लाल बहादुर विष्टले बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका सदस्यहरुलाई स्थानीय जातका हास, कुखुरा, लौकाट, टर्की, बट्टाई पालनमा प्रोत्साहन गर्न एग इन्कुब्याटर सञ्चालन गरिने, पशुधनको सुरक्षाका लागि निशुल्क पशु बीमा गरिने, संस्थाको चिस्यान केन्द्रमा बार्षिक २ हजार लिटर दुध उपलब्ध गराउने किसानको पशु धनको सुरक्षाका लागि निशुल्क पशु बीमाको व्यवस्था गरिने, किसानहरुलाई व्यवसायिक कृषि प्रयोजनका लागि तोकिएको लगानीको अधिकतम सीमा १० लाखको दायरालाई बृद्धि गर्ने कार्यक्रमहरु ल्याइएको उल्लेख गरे ।
कोरोना संक्रमणका बाबजुद बढयो शेयर पुजी
त्यसैगरी सो सहकारी संस्थाले गत आर्थिक बर्षको चैत्रदेखि फैलिएको कोरोना संक्रमण र जारी भएको लकडाउनका बाबजुद संस्थाको बार्षिक कारोबारमा सन्तोषजनक बृद्धि गर्न सफल भएको पनि बार्षिक प्रतिवेदनमा उल्लेख छ । संस्थामा यस अघि रहेको १ करोड ८८ लाख शेयर पुजीमा बृद्धि भइ २ करोड १६ लाख रुपैया पुगेको अध्यक्ष विष्टद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाको जगेडा तथा अन्य कोषमा रहेको १ करोड ३६ लाख रुपैयामा बृद्धि भई १ करोड ५८ लाख रुपैया पुगेको पनि उल्लेख छ ।