एजेन्सी/ भारतमा चाडपर्वको समयमा सर्वसाधारणले लापरवाही गर्दा कोरोना संक्रमण हवात्तै बढेको निष्कर्षसहित केन्द्र सरकारले चार राज्यमा स्वास्थ्य विज्ञहरुको टोली पठाएको छ । हरियाणा, राजस्थान, गुजरात र मणिपुरमा स्वास्थ विज्ञहरुको टोली पठाएको छ । टोलीले त्यहाँको अवस्थाबारे निगरानी गर्नेछ । केन्द्र सरकारले कोरोनालाई नियन्त्रणमा लिनका लागि आवश्यक कदम उठाउन राज्यहरुलाई निर्देशन समेत दिएको छ ।
मध्य प्रदेशमा संक्रमितको संख्या ५ प्रतिशतले बढेको छ र यहाँ राति १० बजेदेखि बिहान ६बजेसम्म कर्फ्युु लगाइएको छ । त्यस्तै, दिल्लीमा मास्क नलगाउने मानिसलाई २ हजार भारु जरिवाना घोषणा गरिएको छ ।
यहाँ हटस्पट क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । गुुजरातको सबैभन्दा ठूलो शहर अहमदावादमा २० नोभेम्बरदेखि २३ नोभेम्बरसम्मका लागि राती ९ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्युु लगाइएको छ ।
हरियाणामा विद्यालय खोल्दा ३ सयभन्दा धेरै बच्चा संक्रमित भएका छन् । यहाँ, ३० नोभेम्बरसम्मका लागि फेरि विद्यालय बन्द गरिएको छ । विज्ञहरुका अनुसार देशमा कोरोनाको दोस्रो लहरको खतरा बढेको छ । यसअघि भारतमा १६ सेप्टेम्बरलाई कोरोनाको पिक मानिएको थियो । यस दिन ९७ हजार ८ सय ६० जना संक्रमित भएका थिए । त्यसपछि भने संक्रमितको संख्या घटेको थियो र १६ नोभेम्बरमा २८ हजार ५ सय ५५ जनामा संक्रमण देखिएको थियो । यद्यपी, १९ नोभेम्बरमा यो संख्या बढेर एकैदिन ४६ हजार १ सय ८५ जना संक्रमित भए । धेरै राज्यमा संक्रमण बढेको छ । नयाँ दिल्लीमा कोरोनाका तेस्रो लहर आइसकेको विज्ञहरु बताउँछन् । दिल्लीका स्वास्थमन्त्री सत्येन्द्र जैनले पनि यहाँ तेस्रो लहर चलिरहेको बताएका छन् ।
बिहीबार ३ अक्टुुबरदेखि नै भारतमा सक्रिय संक्रमणको संख्या घटेको थियो । तर बिहीबार ४७ दिनपछि देशमा निको हुनेको संख्यासँगै नयाँ संक्रमितको संख्या पनि बढ्यो । बिहीबार भारतमा ४६ हजार १ सय ८५ जना नयाँ संक्रमित भेटिए । यही दिन ४५ हजार २ सय ४६ जना निको भए, ५ सय ८३ जनाको मृत्यु भयो । फलस्वरुप सक्रिय संक्रमण ३ सय ४३ ले बढ्यो ।