दमक/ झापाको दमक ३ गोलाटारमा निर्माण गरिने आधारभुत स्वास्थ्य चौकी भवनको आज शिलान्यास गरिएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले बैदिक विधि अनुसार संयुक्त रुपमा सो भवनको शिलान्य गरे । सो भवन निर्माणका लागि दमक ३ निवासी तुलसी धिमालले ३ कठठा जग्गा निशुल्क प्रदान गरेका वडाध्यक्ष नविन बरालले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख ओलीले संविधानमानै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय सरकारको भएका कारण खोप तथा अन्य आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले आधारभुत स्वास्थ्य चौकी सञ्चालनमा ल्याइने नगर प्रमुख रोमनाथ ओलीले बताए । वडाध्यक्ष बरालको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रममा समयमा नै निर्माण सम्पन्न गरेर सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्न सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गरिएको थियो । सो अवसरमा नगरपालिकाका कार्यपालिका सदस्य खडग बहादुर धिमालले स्वागत मन्तव्य राख्दै सो क्षेत्रमा स्वास्थ्य चौकीको सेवा सुचारु गर्न सके त्यस क्षेत्रका बासिन्दाले दिनभर समय खर्चिएर उर्लाबारी वा दमक अस्पताल सम्म धाउनुपर्ने बाध्यता हटने बताए ।

नगरका अन्य वडामा समेत कूल ६ वटा आधारभुत स्वास्थ्य चौकी निर्माणको प्रकृयामा रहेका उपप्रमुख गीता अधिकारीले जानकारी दिइन । यस अघि दमक नगरका वडा नं ५ र ७ मा त्यस्तै प्रकृतिका स्वास्थ्य चौकी भवन निर्माण शुरु गरिसकिएको बताइएको छ ।
ति वडासहित नगरका विभिन्न ६ स्थानमा ४ करोड ७५ लाख ८ हजार १२७ रुपैयाँको लागतमा त्यस किसिमका स्वास्थ्य भवन निर्माणका लागि माङसुवा प्रविन जेभीले गत जेठमा नै सम्झौता गरेको नगरपालिकाले जनाएको छ । सम्झौता अनुसार नगरका ६ स्थानमा चार कोठाको एक तले भवन २०७८ कार्तिक ५ गते भित्र सम्पन्न हुनेछन ।
शिलान्यास कार्यक्रममा दमक १० का वडाध्यक्ष बोधराज न्यौपाने, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना, योजना अधिकृत जिवराज भट्टराई, लेखा अधिकृत देवी कोइराला, निर्माण व्यवसायी प्रकाश केसी सहित स्थानीय वडा सदस्यहरु लगायत सहभागी थिए ।