दमक/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा आएर पछिल्लो राजनीतिक घटना क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको भन्दै बचाउ गरेका छ । नेकपाका केन्द्रिय सदस्य समेत रहेका मुख्यमन्त्री राईले प्रतिनिधीसभा विघटनलाई परिस्थितीको उपजका रुपमा बुझ्नु पर्ने भन्दै ओलीको बचाउ गरेका हुन ।
झापाको दमकमा आज सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले ओलीबाट मात्रै विकास र समृद्धीको यात्रा सम्भव हुने दावि समेत गरे । देशमा विकास र समृद्धीको लहर प्रधानमन्त्री ओलीकै कारण शुरु भएको र यसको अगुवाई पनि ओलीबाट मात्र सम्भव रहेको उनको भनाई थियो । उनी दमकमा निर्माण गरिने जैविक कृषि बजार भवन निर्माण शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै थिए ।
संघीयताको कार्यान्वयनलेनै नागरिकले विकासको महसुस गर्न पाएको उनको तर्क थियो । प्रदेश सरकार मार्फत समेत पूर्वाधार विकासलाई तिव्रता दिईएको भन्दै विगतको जस्तो निर्माण कार्य अलपत्र पार्ने, ढिलासुस्ती हुने क्रम पनि कम हुँदै गएको उनले बताए ।
चार करोडमा कृषि बजार
प्रदेश १ सरकार र दमक नगरपालिकाको करिव ४ करोड रुपैयाँको लागतमा कृषि उपज बजार स्थल निर्माण शुरु भएको हो । ५ करोड ७५ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरिए पनि बजार स्थल भवन निर्माणका लागि ३ करोड ९२ लाख ४८ हजार रुपैयाँमा ठेक्का लागेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले जानकारी दिएका छन् ।
गत कातिक १६ गते सम्झौता भएको भवन निर्माण २०७८ फागुन १६ मा पूरा हुनु पर्ने सम्झौता छ । सो संरचनाका लागि प्रदेश सरकारले २ करोड ७५ लाख र नगरपालिकाले १ करोड १७ लाख ४८ हजार रुपैयाँको साझेदारी गरेका छन् ।
दमकमा अर्गानिक तथा जैविक कृषि उपजको छुट्टै बजार सञ्चालनका लागि सो संरचना बनाउन शुरु गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिएका छन् । दमक–८ मा रहेको सरस्वती माविको जमिन लिजमा लिएर नगरपालिकाले अर्गानिक कृषि बजार सञ्चालन गर्न लागेको हो ।

Facebook Comments Box