विष्णु पौडेल
दमक/ उर्लाबारी उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुनिल बोहोराको फेसबुक आइडी ह्याक गरेर एउटा गिरोहले उनका विश्वासिला साथीहरुबाट लाखौं रुपैया ठगी गरेको छ । बोहोराले फेसबुक चलाउने गरेको आफनै नामको आइडी पासवर्ड एक साता अघि २० पुषको राती करिब ११ बजेदेखि ह्याक भएको देखिएको हो । बोहोराका अनुसार सोही दिन राती ११ बजेदेखि आफनो फेसबुक आईडी अर्कैले पासवर्ड चोरी गरेर चलाएको र म्यासेन्जर मार्फत आफनो कारोबारका विश्वासिला साथीहरुसंग ५/६ लाख रुपैया जति विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामा पठाएको देखिएको हो ।
साथीहरु पैसा माग्न आउदा छक्क परें
किचन आइटमको कारोबारमा संलग्न बोहोराका अनुसार ह्याकरले दमक किचन गुडसका रोशन पौडेलदेखि उर्लाबारी, विराटनगर–काठमाडौं सम्मका व्यवसायी तथा बैंकका कर्मचारी साथीहरुसंग समेत ह्याकरले झुक्याएर रकम मागेको देखिन्छ । धेरै साथीहरुसंग पैसा मागेको रहेछ, कतिपयले भरे भोली फेरी सम्पर्क गरौला भन्नु भएछ , कसैले मैंले नै अभर परेर मागेको होला भन्ने सम्झिएर खुरुखुरु खातामा पैसा पठाइदिनु भएको रहेछ, भोलीपल्ट म घर पुग्दा केही साथीहरु पैसा फिर्ता लिन आउनु भएको देख्दा म झसंग भए ।

ह्याकरले अन्तिम समय आफना साथीहरु मध्ये गौरादह घर भई हाल काठमाडौं बस्दै आएका कोषराज सुवेदीसंग पैसा मागेपछि भने आश्चर्यमा परेर बोहोरालाई फोन नै गरेका थिए । उनले सुनिलले त्यत्तिकै पैसा नमाग्नु पर्ने किन कसरी यस्तो भयो होला भन्ने सम्झिएर फोन गरेका थिए । त्यतिबेला आफूले पैसा नमागेको र म्यासेन्जर पनि नचलाएको जवाफ दिएर के कसो भएको होला भन्ने बुझनेतिर लाग्दा घरमा अरु साथीहरु पनि हिजो पठाएदिएको पैसा फिर्ता माग्न भन्दै आइपुगेको देखेर आफू आश्चर्य चकित भएको बोहोराले बताए ।
के हुदैछ कानुनी कारवाही ?
एक साता अघिको यो घटनाका बिषयमा जानकारी गराउन सबैभन्दा पहिला बोहोरा इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेका थिए । त्यहास्थित प्रहरीले यस यो बिद्युतीय ( प्रविधि दुरुपयोग) अपराध सम्बन्धिको घटना भएकाले यस बिषयमा उपल्लो तहबाट मात्रै अनुसन्धान सम्भव हुने दर्शाएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेर उनले घटनाका बिषयमा जानकारी गराएका छन ।
सो लगत्तै बोहोराका साथीहरुबाट रकम पठाइएका ( ठगी गिरोहले रकम माग गरेका बैंक खाताका सञ्चालक)हरुका बैंक खाता बन्द गरेर सो सम्बन्धिको अनुसन्धान शुरु गरेको जानकारी प्रहरीले आफूलाई गराएको बोहोराले बताए ।