दमक/झापाको दमकस्थित आम्दा अस्पतालमा आज बिहान बच्चा जन्माएकी मोरङको मिक्लाजुङ ९ की २५ बर्षिया एक महिलाको मृत्यु भएको छ । हिजो बेलुकी अन्दाजी साढे ७ बजे सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएकी मिक्लाजुङ ९ नाइतेपानी घर भएकी मनिषा राईको आज बिहान मृत्यु भएको हो । उनले बिहान ७.४५ बजे छोरा जन्माएकी थिइन ।
मृतक मनिषाका पति सन्तोष राईका अनुसार हिजो बेलुका ७÷८ बजेतिर एम्बुलेन्समा ल्याइएकी श्रीमतिलाई राती ब्यथाले धेरै च्यापे पछि बारम्बार खबर गर्दा पनि केही हुँदैन …यस्तै हो ..भन्दै वेवास्ता गरेका थिए । बिहान बच्चा जन्मिएपछि पनि चिकित्सकहरुले सुत्केरी महिलाको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिन नखोजेको र अधिक रक्तश्रावका कारण मनिषा छटपटाएकी थिइन । अन्तिम समयमा आएर आम्दा अस्पतालले ति महिलाको थप उपचारका लागि धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको थियो । मृतककी दिदी मेनुका राईले बहिनी मनिषाको मृत्यु आम्दा अस्पतालमै भएको तर जवरजस्त अस्पतालले धरान रेफर गरेर पन्छिन खोजेको आरोप लगाइन ।
मृतकका आफन्त र गाउँलेहरुले ति सुत्केरीको मृत्यु आम्दा अस्पतालकै त्रुटीका कारण भएको भन्दै अस्पताल समक्ष विभिन्न मागहरु अघि सारेका छन । उनीहरुले मनिषालाई सुत्केरी गराउने प्रकृयामा संलग्न चिकित्सक तथा नर्सहरुमाथि छानबिन गरी कारवाही गरिनुपर्ने, मृतकका छोराछोरीको शिक्षा, स्वास्थ्य लगायतको ग्यारेन्टी गरिनुपर्ने र उपचार प्रकृयामा लागेको खर्च तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन । उनीहरुका मागका बिषयमा अहिले अस्पताल प्रशासनसंग छलफल भइरहेको छ ।

Facebook Comments Box