दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर बिकासको लहर चलेको बताएका छन । आफू प्रधानमन्त्री भए यताको ३ बर्षको अवधिमा नसोचेको बिकास भएको बताउँदै अबको पाँच बर्ष भित्र नेपाल बिकासशील देशका रुपमा चिनिने उनको दाबी छ ।
आज आफनो निर्वाचन क्षेत्रमा बन्न लागेको बहुचर्चित चीन – नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै पछिल्ला दिनहरुमा नेपाली जनताले बिकास गर्ने पार्टीलाई बुझ्दै/चिन्दै गएकाले आफू प्रधानमन्त्री भएको र त्यसैको परिणाम देशभर बिकासको लहर चलेको दाबी गरे । औद्योगिक पार्कका बिषयमा चर्चा गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई निर्यातकका रुपमा चिनाउन र मित्र राष्ट्र चीनसंगको मित्रताको प्रतिकका रुपमा सो औद्योगिक पार्क रहने विश्वास व्यक्त गरे ।


झापाको निर्वाचन क्षेत्र नं ५ ( प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र) कमल, दमक र गौरादह समेतको २१ सय बिगाहा जमिनमा बनाउने गरी आज ( आइतबार) शिलान्यास गरिएको सो औद्योगिक पार्कका लागि ६३ अर्ब रुपैयाँ लगानी स्वीकृत भइसकेको र पहिलो चरणमा २ अर्ब रुपैयाँको योजना कार्यन्वयनमा रहेको उल्लेख गरे ।
अबको २ बर्ष भित्र ४५ हजार मानिसहरुलाई रोजगारी दिने ,५ बर्ष भित्र पूर्वाधार निर्माण सम्पन्न हुने र अबको १० बर्षपछि लाखौं मानिसलाई रोजगारीको अवसर दिने प्रधानमन्त्री ओलीले बताए । सो औद्योगिक पार्कमा तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानी रहने जनाइएको छ । यो पार्क यस क्षेत्रको मात्र नभएर नेपालको एवं दक्षिण एशियामा नै नमुना बन्ने दाबी निर्माणमा अगुवाई गरिरहेकाहरुले बताउँदै आएका छन ।
आफनो मन्तव्यको अधिकांश समय सरकारले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरेका प्रधानमन्त्री ओलीले औद्योगिक पार्कको महत्वलाई बुझेर यहाँका सम्बन्धित गाउँ /नगर, राजनीतिक दल लगायत सबै क्षेत्रले यसलाई सबैको साझा उपलब्धी र कर्तव्यका रुपमा बुझन आग्रह गरे ।
आजै एकै ठाउँबाट ३१ वटा पूलको शिलान्यास र ५ वटा पूलको उदघाटन गर्ने कार्यक्रम रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने – कतै खोलो भए देखाउनुस पूल बन्छ, बाटो देखाई दिनुस पक्की बन्छ ।
पुराना दिनहरुको स्मरण गर्दै कार्यक्रममा प्रधानमन्त्री ओलीले भने– उहिले म पहिलो चोटी यस क्षेत्रमा आउँदा गाडीमा कोदालो राखेर आउनु पथ्र्यो, पिच हेर्न राजमार्ग पुग्नु पथ्र्यो । , पहिलो पटक कार्यकर्ता भेटघाट गर्दा यस क्षेत्रमा पेट्रोमेक्स बालेर गरेका थियौं ।
२०५१ सालमा आफूले थालेको गौरीगञ्ज पाडाजुँगी सडक कालोपत्रेको काम अरुले गर्न नदिएको र पछि एडीबिलाई लगाएर आफैंले बनाएको दाबी समेत गरे । प्रधानमन्त्री ओलीले गौरादहमा काठको फडकेबाट मोटरसाइकल पछाडी बसेर तार्न खोज्दा गौरादहका त्यस ताकाका गाविस अध्यक्ष दिपक कार्की मोटरसाइकल सहित खोलामा झरेको पनि स्मरण गरे ।
विप्लवसंग वार्ता
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघबाट भर्खरै खुशीको सन्देश आएको बताउँदै नेपाल शान्तिपूर्ण मुलुकको सूचीमा दक्षिण एशियामै सबैभन्दा अघि रहेको उल्लेख गरे । उनले शान्ति प्रकृयामा केही थोरै समस्याका रुपमा रहेको विप्लव समुहसंगको वार्ता सकेर यो समस्या समाधान हुने दाबी पनि गरे । उनले सहभागीहरुलाई त्यसका बारेमा थाहा पाउन टिभी हेर्दै गर्नु पनि भनेका छन ।
फुसको छानो खेदी खेदी जस्ता पाता
प्रधानमन्त्री ओलीले सुकुम्बासी र विपन्नहरुका लागि गरिएको कामको चर्चा गर्दै कतै फुसको छानो भएका घर भए सरकारले खेदी खेदी निशुल्क जस्ता पाता लगाईदिने बताए । जनता आवास कार्यक्रम अन्तर्गत लोभा लाग्दो किसिमका एकीकृत बस्ती निर्माण गरिरहेको र जमिन नभएका भुकम्प ग्रस्त २ लाख परिवारलाई जमिनसहित घर हस्तान्तरण गरेको बताए ।
स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिका बिषयमा उनले विश्वमा कहिं कतै नभएको ३०९ वटा स्वास्थ्य चौकी अर्थात अस्पताल एकै दिन शिलान्यास आफनै नेतृत्वको सरकारले गरेको बताए ।
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट , चीन – नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष  थापा लगायतले भनाई राखेका थिए ।

Facebook Comments Box