दमक/गएको वैशाख २ देखि शुरु भएको धिमाल जातीको दुई महिना लामो जात्री पर्व धिमाल ग्रामथानहरुमा धुमधाम चलिरहेको छ ।
झापा, मोरङमा विशेष बाहुल्यता रहेको आदिवासी धिमाल जातिले देवी देवताको पूजाका लागि संरक्षण गरेका धार्मिक क्षेत्र ग्रामथानहरुमा ‘जात्री’ पर्व को अवसरमा विेशष पूजाआजासहित धार्मिक तथा साँस्कृतिक मेला समेत लाग्ने गरेको छ । मोरङ्गको लेटाङ्ग १ मा रहेको राजारानी क्षेत्रमा मेला लगाई वैशाख २ गते धिमाल जातीको महाराज थानमा पुजा गरेर धिमाल जातीले जात्री सुरुवात गरेका हुन् ।
मेला सँगै शुरु भएको पर्व २ महिनासम्म चल्ने गर्दछ ।
यस पर्व अवधिमा विभिन्न स्थानमा ढङ्ढङे मेला लाग्ने गरेको छ । जात्री पर्वमा झुम्ने धिमालहरुले महाराज थानमा सुँगुर,परेवा,कुखुरा तथा अन्य पंक्षी काटेर भोग दिने चलन छ । धिमाल महाराजथानमा पुग्ने धिमालहरुले माटाका विभिन्न आकृतीलाई पुज्ने गरेका छन् । राजारानीबाट सुरु भएको जात्री पर्व असार २ गते मोरङ्गको उर्लावारी मंगलबारेस्थित धिमाल जाती विकास केन्द्र परिसरमा भव्य मेला आयोजना गरेर सम्पन्न गर्ने गरिन्छ ।
धिमाल जातिले यस पर्वका सिलसिलामा प्रकृतिको पूजा गर्दै सम्पूर्ण प्राणी जगतमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्ने गर्छन ।
बाली नालीदेखि समाजका हरेक पक्षमा सुधार आओस , अन्न पात राम्रो होस, प्राकृतिक प्रकोप, महामारी आदि नपरोस भन्ने कामना गर्दै जात्री पर्वमा आफ्ना आफ्ना देवी देवताहरुको आरधना गर्ने चलन रहेको धिमाल जाति विकास केन्द्र झापाका सचिव मणिराज धिमाल बताउँछन् । जात्री पर्वसंगै धिमाल बस्तीका टोल टोलमा मेला तथा साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गर्ने गरिएको दमक ४ स्थित अडियामहल टोलका अध्यक्ष विजय धिमालले बताए ।
सो टोलमा हालै सम्पन्न बृहत साँस्कृति कार्यक्रमहरुमा धिमाल जातीका कलाकारहरुसंगै अन्य ख्यातीप्राप्त कलाकारहरुले पनि आआफ्नोगीता संगितसंगै धिमालहरुको परम्परागत नाच प्रस्तुत गरेका थिए । दमक,पथरीशनिश्चरे र वेलवारी नगरपालिकाले धिमाललाई पहिलो जातीका रुपमा घोषणा गरेर विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएका छन् ।