दमक/तराई भेगमा आज रंगहरुको पर्व फागु अर्थात होली पर्व मनाइँदैछ । कोरोना संक्रमणको बाबजुद सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा होलीको उल्लास आएको हो । प्रशासनले सामुहिक जमघट हुने गरी सार्वजनिक रुपमा होली मिलन कार्यक्रमहरु नगर्न आदेश गरेपनि होली पर्वको उल्लासले संक्रमणको जोखिमलाई बिर्साएको छ ।
सरकारले तराई भेगमा आज होली विदा दिएको छ भने अधिकांश सहकारी संस्थाहरुले पनि आज कारोबार बन्दको सूचना गरेका छन । दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले होली पर्वको अवसरमा आज कारोबार बन्दको सूचना गरिसकिएको जानकारी दिए । त्यस्तै दमककै मेची सहकारी संस्थाका व्यवस्थापक खोम बगालेले पनि होलीमा संस्थाको कारोबार बन्द रहने जनाए ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । पहाडी क्षेत्रमा हिजो मनाइएको होली तराईमा भने आज मनाइदैछ ।