दमक/ईलाका प्रहरी कार्यालय अमरपुर पाँचथरको हाता भित्र निर्माण हुन लागेको ब्यारेक भवनको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शुक्रवार एक विशेष समारोहका विच शिलान्यास गर्नु भएको छ । हिलिहाङ गाउँपालिका-१ का समर बहादुर अधिकारीले चार रोपनी चौध आना एक पैसा तिन दाम क्षेत्रफल भएको जग्गा निःशुल्क उपलब्ध गराउनु भएको थियो भने सोही जग्गामा २ करोडको लागतमा सुबिधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख रिजालले भवन निर्माणको लागि निःशुल्क जग्गा प्रदान गर्नु हुने जग्गादातालाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । सम्मान कार्यक्रम पश्चात बोल्नु हुँदै प्रदेश प्रहरी प्रमुख रिजालले समाजमा शान्ति सुरक्षाको प्रत्याभुति भएमा मात्र सिङगो राज्य समृद्धि हुने भएकोले शान्ति सुरक्षाको गहन जिम्मेवारी पाएको नेपाल प्रहरी समयानुकुल विकास भएका प्रविधिसंगै भौतिक स्रोत र साधनले सम्पन्न भएमा मात्र अपेक्षाकृत उपलब्धि हासिल हुने र निर्माण हुन लागेको ब्यारेक भवन तोकिएको समयमा गुणस्तरीय तथा मापदण्ड अनुरुप सम्पन्न गर्न गराउन सरोकारवाला सबै पक्षलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती, जिल्ला अदालत पाँचथरका प्रमुख मनोज के.सी., राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, महिला अधिकारको क्षेत्रमा कृयाशिल महिलाकर्मीहरु, पत्रकार तथा नागरीक समाजका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।