दमक/ सरकारले अनिवार्य गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालनामा जोड दिदैं दमक उद्योग वाणिज्य संघले जनचेतना स्वरुप प्रहरीसंगको सहकार्यमा सर्वसाधारणलाई मास्क वितरण गर्ने क्रम शुरु गरेको छ ।

दमकको सबैभन्दा बढी चाप हुने क्षेत्रका रुपमा चिनिएको नयाँ तरकारी बजा परिसरबाट संघले हिंजो ( मंगलबार)देखि मास्कको प्रयोग अनिवार्य गर्न आव्हान गर्दै मास्क वितरण शुरु गरेको हो । जनचेतना जगाउने उद्धेश्यले शुरु गरिएको मास्क वितरणका लागि बुधबारदेखि इलाका प्रहरी कार्यालय दमकसंग सहकार्य गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँले बताए ।

संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार पहिलो दिन मंगलबार १ हजार ५ सय मास्क वितरण गरिएको र दोश्रो दिन १ हजार मास्क इलाका प्रहरी कार्यालय दमकको कोभिड विशेष टिमलाई हस्तान्तरण गरिएको छ । मास्क वितरणको शुरुवातमा मंगलबार संघका वरिष्ठ उपाध्यक्ष गुरागाइँ, प्रथम उपाध्यक्ष राजु खडका, द्धितीय उपाध्यक्ष राजकुमार योङया, तृतीय उपाध्यक्ष रमा लिम्बु, कार्यसमिति सदस्यहरु भरत चौंलागाइँ, चन्द्र खत्री , संघका कार्यालय प्रमुख निरज विष्ट लगायतको टोली प्रत्यक्षरुपमा मास्क वितरणमा सहभागी भएको थियो ।

संघका अध्यक्ष श्रेष्ठले मास्क नलगाएका व्यवसायी र ग्राहक दुवै पक्षको निगरानी गरि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अटेर गर्ने व्यवसायी तथा उपभोक्ता ( ग्राहक) माथि स्थानीय प्रशासनबाट हुने कारवाहीप्रति स्वयं व्यवसायी नै जवाफदेही हुनुपर्ने बताए । यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको एक टोलीले दमकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अवस्थाबारे जानकारी लिएको छ । सरकारले व्यवस्था गरेको पालिकास्तरीय अनुगमन टोलीले कोरोना रोकथाम तथा नियन्त्रणको अवस्थाबारे स्थलगत रुपमा जानकारी लिएको हो ।

नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख दिनेश न्यौपाने नेतृत्वको टोलीले मालपोत कार्यालय ,नापी कार्यालय दमक ,गोरखा डिपाटमेन्ट स्टोर र एन. एम.बी. बैक दमक लगायतका कार्यालयमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको हो ।
सो टोलीले मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगाल,नापी कार्यालयका प्रतिनिधिसंग लेखापढी ब्यवसायी संघका अध्यक्ष उद्धव दाहाल लगायतसंग छलफल गरी भोली देखि नै क्षेत्रगत रुपमा आलोपालो सिस्टममा सेवाग्राहीलाई सेवा दिन सकिने उपायका बिषयमा छलफल गरेको छ । नगर प्रहरीको टोलीले दमक चोक ,बजार ,मालपोत कार्यालय क्षेत्र आदि विभिन्न ठाउँमा माइकिङ गरेर कोरोनाको जोखिमबाट बच्न सचेतना जगाएको नगरपालिकाले जनाएको छ ।