दमक/ कोरोना संक्रमणका कारण झापाली सञ्चार क्षेत्रमा पारेको प्रभावका बिषयमा नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भिर छलफल र समीक्षा गरेको छ । शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आज शनिबार भर्चुअल रुपमा बसेको तेस्रो बैठकले कोभिड–१९ संक्रमणको दोस्रो लहर र यसले बढाएको जोखिमको सन्दर्भमा महासंघ तथा समग्र सञ्चार क्षेत्रले गर्नुपर्ने कामका बिषयमा विभिन्न निर्णय गरेको महासंघ झापा शाखाका सचिव डिकेश लामाले जानकारी दिए ।
हालसम्म झापाका २१ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित बनेकोमा एक जनाको निधन भएको र ९ जना हाल आइसोलेशनमा रहेका छन । महासंघले सबै पत्रकारलाई प्रविधिको प्रयोग गरेर भरसक घरबाटै काम गर्न र बाहिर जानै पर्ने भए स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूर्ण पालना गरेर मात्र काम गर्न अपिल गरेको छ ।
कोरोनाको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान, समन्वय लगायतका कार्य गर्नका लागि उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा गठित समिति तथा कोभिड–१९ को दोस्रो लहरबाट सञ्चार क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने समस्या लगायत समग्र विषयको अनुगमन गर्न उपाध्यक्ष सुशीला संग्रौलाको संयोजकत्वमा यसअघि गठित समितिको कामबारे वैठकमा छलफल भएको थियो ।
बैठकले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि आवश्यक अक्सिजनसहितको आइसोलेसन बेडको व्यवस्था मिलाउने निर्णय गरेको छ । स्थानीय सरकारसंग समन्वय र सहकार्य गरी संक्रमित पत्रकारलाई सहजरुपमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने पनि निर्णय गरिएको शाखा सचिव लामाले जनाए ।
संक्रमित पत्रकारहरुले स्वास्थ्य सुधारका लागि गर्नु पर्ने कार्य, आत्मबल बढाउने बारे परामर्श, अन्य पत्रकारहरुले रिपोर्टिङ गर्न जाँदा, घर आउँदा र अरु समयमा पनि अपनाउनु पर्ने सावधानी लगायतबारे बुझाउन तथा कुनै पनि जिज्ञासा र जवाफका लागि ‘पत्रकारहरुलाई विशेषज्ञ चिकित्सकको परामर्श’ विषयक भर्चुअल कार्यक्रम आइतबार सञ्चालन गर्ने पनि महासंघले निर्णय गरेको छ ।