दमक/ नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट पीडित बनेका गौरीगञ्ज गाउँपालिका वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीसहित ५ जना कोरोना संक्रमण मुक्त भएका छन ।

राजवंशीको गत वैशाख १७ गते गरिएको पीसिआर परिक्षणमा कोरोना पुष्टि भएको थियो । गौरीगञ्ज गाउँपालिकामा अहिले सम्म ४४ जना संक्रमित रहेकामा अहिले सम्म वडाध्यक्ष राजवंशीसहित पाँच जना मात्रै संक्रमण मुक्त भएको रिपोर्ट प्राप्त भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । विभिन्न सामाजिक सञ्जालहरुमा २३ जना संक्रमणमुक्त भएको भन्ने विवरण सार्वजनिक भएपनि त्यसमा सत्यता नरहेको पनि मिश्रले प्रष्ट पारेका छन । उनले अहिले सम्म गाउँपालिकामा ४४ जना संक्रमित भइसकेको पनि बताए ।
हेल्चेक्रयाइँ नगरौं – वडाध्यक्ष राजवंशी
कोरोना संक्रमणबाट दुई साता बढी लामो समय पीडित भएर निको भएका वडाध्यक्ष राजवंशीले यस पटकको कोरोना भाइरसले स्वास्थ्यमा निक्कै गम्भिर असर पुरयाउने भन्दै यसका बिषयमा हेल्चेक्रयाइँ नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन । संक्रमणमुक्त भएपछि निष्कर्ष न्यूजसंगको कुराकानीमा वडाध्यक्ष राजवंशीले भने– यस पटकको भाइरस निक्कै कडा खालको रहेछ, निकै कडा संघर्षपछि मात्रै आज संक्रमणमुक्त भएको छु, सबै संक्रमितहरुले यसलाई परास्त गर्न सक्नुहुनेछ भन्नेमा विश्वस्त छु ।