दमक/प्रदेश नं १ अन्तर्गतका विभिन्न जिल्लामा भएका अलग अलग घटनामा ६ जनाको मृत्यु भएको छ । मोरङको पथरीमा भएको दुर्घटनामा झापा र मोरङका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको झापा गाउँपालिका वडा नं ५ का अन्दाजी ६०/६५ बर्षिय लक्ष्मी पौडेल र मोरङको रंगेली ३ रञ्जनी बस्ने अन्दाजी ७० बर्षिया विष्णुमाया शिवाकोटी रहेका छन । उनीहरुको घटनास्थलमानै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रदेश कार्यालय इटहरीले जनाएको छ । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पथरी शनिश्चरे २ जय चोकमा पहिचान नखुलेको गाडीले मे १ च १८५१ नम्बरको स्कोरपियोलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा स्कोरपियोका चालक विर्तामोड २ चारपानेका ३३ बर्षिय बिकास उप्रेती, स्कोरपियोमा सवार झापा गा.पा. वडा नं २ की ४५ बर्षिया बिनिता पौडेल र झापा हल्दिबारी गा.पा. वडा नं ५ का २५ बर्षिय रोशन उप्रेती गम्भिर घाईते भएका छन । उनीहरुको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा निर्माण मजदुरको मृत्यु
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रानीपुलमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा एक जना कामदारको मृत्यु भएको छ । बुधवार ( हिजो ) साँझ काम गर्ने क्रममा अचानक चिप्लिएर लडदा फलामले किचेर बारा सिमराका २६ बर्षीय श्याम सुन्दर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।
पाँचथरमा मृत फेला
त्यसैगरी पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् । नेम्वाङ , बुधवार राती ९ बजे निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा भेटिएका हुन । जिल्ला प्रहरी कार्यालय पाँचथरले उनको शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ ।
भिरबाट लडेर दुई जनाको ज्यान गयो
सोलुखुम्बु र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ का २८ बर्षीय सिताराम बस्नेतको स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको हो ।
बुधवार दिउँसो गाई चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । यसैगरी उदयपुरको कटारी नगरपालिका–८ मरुवाखानी बस्ने २९ बर्षीया गिता बि.क.को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । बुधवार साँझ ६ बजे मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भिरबाट लड्दा बि.क.को घटनास्थलमा नै मृत्यु भएको हो ।