दमक/दमकमा सञ्चालित सरकारी स्वामित्वको दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा विभिन्न सहयोगी संस्था र दाताहरुले भौतिक सामग्री सहयोग गर्ने क्रमले आज ( बिहिबार) पनि निरन्तरता पाएको छ । कोही बिरामीले त्यहाँको आवश्यकतालाई मध्यनजर गरेर सहयोग गरेका छन भने सहकारी तथा अन्य संघ संस्थाहरु, व्यवसायी एवं प्रवासमा रहेका दमकेलीहरुले समेत विभिन्न किसिमका उपयोगी सामाग्रीहरु प्रदान गरेपछि सो उपचार केन्द्र सुविधायुक्त बन्दै गएको छ ।


सो केन्द्रमा सघन उपचार कक्ष ( आइसियु) सञ्चालनमा सहयोग पुरयाउने उद्धेश्यले आज दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले एक थान अत्याधुनिक प्रकारको आइसियु वेड प्रदान गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवामा प्रत्यक्ष उपयोग हुने सामग्रीका रुपमा कोरोना संक्रमितको उपचारमा सहजताका लागि सो बेड प्रदान गरेको हो । संस्थाको बार्षिकोत्सवको अवसर पारेर सो सामग्री अज कोभिड उपचार केन्द्रमा नै पुगेर हस्तान्तरण गरिएको सहकारीका प्रवन्ध निर्देशक अरुण भण्डारीले जानकारी दिए । संस्थाका तर्फबाट अध्यक्ष टिकाराज सापकोटा, प्रवन्ध निर्देशक भण्डारीसहितको टोलीले दमक नगर प्रमुख रोमनाथ ओली र कोभिड उपचार केन्द्रकी संयोजक समेत रहेकी दमक नगर उपप्रमुख गीता अधिकारीलाई सो सामग्री हस्तान्तरण गरेका थिए । त्यसैगरी आज नै दमकका स्थापित व्यवसायी तथा सामाजिक व्यक्तित्व विष्णु खतिवडाले दुई थान आइसियु वेड प्रदान गरेका छन । दमक ७ स्थित जनसेवा ट्रेडर्सका प्रोप्राइटर समेत रहेका खतिवडाले दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठसहित वडा नं ७ का वडाध्यक्ष भिम प्रसाद पौडेल लगायतको उपस्थितीमा नगर प्रमुख ओली र उपप्रमुख अधिकारीलाई ति सामाग्री हस्तान्तरण गरेका हुन ।
त्यस्तै दमक ६ स्थित म्याक्स मेडिकेयरका प्रोप्राइटर तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका प्रकाश अधिकारीले कोरोना संक्रमणबाट जोगाउन स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पिपिई , गाउन र बिरामीका लागि अक्सिजन फ्लो मिटर प्रदान गरेका बताइएको छ । यस अघि सो उपचार केन्द्रमा पुगेका दमक १ का विश्वबन्धु बुढाथोकीले सो केन्द्रको व्यवस्थापनमा सहयोग पुरयाउन १० थान प्लाष्टिकका कूर्सी प्रदान गरेका थिए ।
विदेशबाट सम्झिए दमकका युवाले
दमकस्थित दमक अस्पताल र आम्दा अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा सहजताका लागि हाल कतारमा बस्दै आएका दमकेली युवाहरुले समेत यहाँका संक्रमितहरुको उपचारमा सहयोग पुरयाउन तीन लाख बढी मुल्य बराबरको सहयोग सामग्री प्रदान गरेका छन ।
दमकको सामुदायिक अस्पताल आम्दा अस्पताल र दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्र बेलडाँगीका लागि सो सहयोग प्राप्त भएको हो ।  कतारमा बस्दै आएका डिन्सन बोहोरा र सन्तोष गौतमको पहलमा दमकेली युवाहरुले एकिकृत रुपमा पठाएको सो सहयोग रकमबाट तीन वटा अक्सिजन उत्पादन गर्ने बिद्युतीय उपकरण ( अक्सिजन कन्सन्टेटर) खरिद गरेर मंगलबार ति अस्पताललाई हस्तान्तरण गरेका थिए । त्यस किसिमको एउटा उपकरणले प्रतिघण्टा ५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।

 

 

Facebook Comments Box