छविराज ढकाल
पथरीशनिश्चरे/ पथरिशनिश्चरे नगर अस्पतालमा कोरोना संक्रमितको उपचारार्थ सञ्चालित आइसोलेसन वार्डमा २१ वटा अक्सिजन सहितको सिलिण्डर उपलब्ध भएको छ ।

शुक्रबार मात्रै युएइ समाजले ८६ हजार ८ सय रुपैयाँ बराबरको ६ वटा अक्सिजन सिलिण्डर प्रदान गरेसँगै उक्त आइसोलेसनमा हालसम्म सो संख्यामा अक्सिजन सिलिण्डर उपलब्ध भएको हो ।
युएइ समाजका मोहन गौतम, तीर्थ आचार्य लगायतका समाजिक व्यक्तित्वले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखाका प्रमुख एवं जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितलाई हस्तान्तरण गर्नुभएको थियो । केहि दिन अघि मात्रै आइसोलेसनका लागि पथरीशनिश्चरे १ का खगेन्द्र भट्टराईले २ थान र भूपाल श्रेष्ठ आवद्ध बेलबारी(भाउन्ने बल्लुचोक)स्थित सूर्य एग्रिग्रेटले ३ वटा खाली सिलिण्डर उपलब्ध गराएको थियो भने जिल्ला प्रशासन कार्यालयले यस अघि नै ५ वटा सिलिण्डर प्रदान गरिसकेको छ । साथै, वडा नं –१कै हेमसागर चापागाईंले २ थान अक्सिजन सहितको सिलिण्डर खरिद गरेर प्रदान गरेका थिए ।
यसैगरी, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका अध्यक्ष डा.भूपेन्द्रकुमार बस्नेतको अगुवाईमा ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन, पीपीइ र एन नाइन्टीफाइभ मास्क सहितका १५ लाख बढी रुपैयाँका सामग्री प्रदान गरिएको थियो भने पथरी काठमाडौं मैत्री समाजले आफ्नो पहलमा सामग्री जुटाइ हस्तान्तरण गरेको थियो ।
हालसम्म, १८ वटा नर्मल अक्सिजन सिलिण्डर र ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन प्राप्त भइसकेको छ ।
उता, पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी स्मृति फाउण्डेशन्ले पनि ४५ थान पीपीइ सेट, २० थान अक्सिमिटर, १५० थान एन नाइन्टीफाइभ मास्क, १ हजार थान सर्जिकल मास्क तथा हेडसिल्ड, बुट, सोडियम हाइपोक्लोराइड, सेनिटाइजर र ग्लोब प्रदान गरेको छ ।