दमक/दमकमा निशुल्क पीसिआर बिधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलनलाई आज ( बिहिबार) पनि निरन्तरता दिइएको छ । नगरपालिकाले आज थप १०१ जनाको पीसिआर परिक्षणका लागि स्वाव संकलन गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यससंगै दमकमा निशुल्क पीसिआर परिक्षण गराउनेको संख्या ९०९ पुगेको छ ।
यस अघि ८०८ जनाको स्वाव संकलन गरि पीसिआर परिक्षण गराइ सकिएको जनाइएको छ । नगरपालिकाले सातामा दुई पटक (हरेक बिहिबार र सोमबार) निशुल्क पीसिआर परिक्षणका लागि स्वाव संकलन गर्दै आएको छ । दमक २ बेलडाँगीस्थित कोभिड उपचार केन्द्रमा स्वाव संकलन गर्ने गरिएको हो । संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका, चिकित्सकहरुको सिफारिसमा परेका र लक्षण चिन्ह देखिएका बिरामीको मात्रै दमक नगरपालिकाले निशुल्क पीसिआर परिक्षणका लागि धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाव पठाउने गरेको छ ।