दमक/विश्व बैंकको सहयोगमा दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट जडानको गृहकार्य शुरु भएको छ ।
अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले सोका लागि आवश्यक सहयोग र समन्वयका लागि दमक अस्पताललाई पत्राचार गरेको जनाइएको छ । एक महिना भित्रै दमकमा प्रतिघण्टा ४० घन मिटर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट स्थापना हुने जनाइएको छ ।

विश्व बैंकको सहयोगमा संयुक्त राष्ट्र संघ अन्तर्गतको युएनओएसपी नामक परियोजनाले सो कार्यका लागि आज ( आइतबार) दमकमा अक्सिजन प्लान्ट जडानका लागि उपलब्ध जग्गा, त्यहाँँको भौतिक अवस्था तथा आवश्यक अन्य पूर्वाधारहरुको स्थलगत जानकारी लिएको दमक अस्पताल सञ्चालक समिति अध्यक्ष तथा दमक नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिइन ।
यहाँ जडान हुने सो प्लान्टका लागि आवश्यक उपयुक्त परिमाणको जग्गाको पहिचान , प्लान्टलाई अस्पतालको वितरण प्रणालीमा जोडने , बिद्युत प्रणालीको जडान तथा आवश्यक टहरा निर्माण लगायतका कामको जिम्मा सम्बन्धित अस्पतालको रहनेछ भने अन्य प्राविधिक तथा उपकरण विश्व बैंकको सहयोगमा सो परियोजनाले व्यवस्थापन गर्नेछ । यो दमकका लागि ठुलो उपलब्धी भएको बताउँदै उपप्रमुख अधिकारीले भनिन– जति सक्दो छिटो यसलाई सञ्चालनमा ल्याउने हाम्रो प्रयत्न हुनेछ ।
यतिबेला कोरोना संक्रमणका कारण संक्रमितहरुमा अक्सिजनको मात्रा कमि हुन गई समयमा कृत्रिम प्राण वायु अर्थात अक्सिजन उपलब्ध नहुँदा अकालमा ज्यान जाने क्रम छ । यो प्लान्ट स्थापनापछि दमकका अतिरिक्त प्रदेश एकका विभिन्न अस्पतालहरुमा अक्सिजनको अभाव हुन पाउने छैन । सरकारले एक सय बेड वा सो भन्दा बढी सबै अस्पतालहरुलाई आफैं अक्सिजन उत्पादन गर्ने व्यवस्था मिलाउन निर्देशन गरिसकेको अवस्थामा यो प्लान्टले साना अस्पतालहरुलाई राहत पुग्नेछ ।