दमक/झापाको कमल ५ पाडाजुँगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था आज ( ६ असार) देखि १० औं बर्ष पूरा गरी ११ औं बर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले आज कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै संक्षिप्त रुपमा सेवामुलक कार्यक्रम गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्त सञ्चार केन्द्रमा पुगेर संस्थाका सञ्चालक, कर्मचारी तथा शेयर सदस्यहरुले सामाजिक दुरी कायम राख्दै रक्तदान कार्यक्रम गरेको हो । सो अवसरमा संस्थाले रेडक्रसको सञ्चार केन्द्रमा कार्यरत कर्मचारीहरुलाई पीपीइ सेट समेत वितरण गरेको संस्थाका अध्यक्ष सान्तकुमार राई ( सन्तु) ले जानकारी दिए ।


त्यस अघि स्थापना दिवसको अवसरमा संस्थाको भवनमा संस्थाका संस्थापक अध्यक्ष शेरबहादुर श्रेष्ठको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष सान्तकुमार राई ( सन्तु) को सभापतित्वमा स्थापना दिवस कार्यक्रम मनाइएको छ ।

संस्थाकी उपाध्यक्ष उषा भण्डारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण गौतम, गौरादह सेवा केन्द्र संयोजक, संस्थापकहरु लगायतको आतिथ्य रहेको थियो । सो अवसरमा केक काटेर एकआपसमा शुभकामना आदनप्रदान गरिएको थियो । कार्यक्रममा , सचिव सञ्जय कुमार कुमाल, कोषाध्यक्ष रोशन दाहाल,  निवर्तमान सचिव भोजकुमार राई सहित विभिन्न उपसमिति, शेयर सदस्यहरु सहभागी थिए ।


शेयर पुँजी सवा ३ करोड, लगानी २३ करोड
कमलका युवा उद्यमी व्यवसायीहरुको सक्रियतामा स्थानीय शेरबहादुर श्रेष्ठको अगुवाईमा स्थापना भएको सो सहकारी संस्थामा हाल सम्म सवा ३ करोड भन्दा बढी शेयर पुँजी पुगेको छ । संस्थामा हाल ३ करोड २६ लाख १२ हजार २ सय रुपैयाँ शेयर पुँजी पुगेको हो । त्यस्तै संस्थाको जगेडा कोषमा १ करोड ५ लाख ४९ हजार रुपैयाँ रहेको छ । कूल २ हजार ३७ जना शेयर सदस्य रहेको संस्थाको हाल सम्मको वासलात ३४ करोड ९७ लाख ७८ हजार रुपैयाँ रहेको संस्थाका सचिव सञ्जय  कुमार कुमालले बताए ।  संस्थाले सदस्यहरुलाई २३ करोड रुपैयाँ भन्दा बढी ऋण लगानी गरेको छ ।

 

Facebook Comments Box