काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभएको हो । कुल चार सय ५६ मेगावाट क्षमताको यस आयोजनाको पहिलो युनिट आजदेखि सञ्चालनमा आएको छ । आयोजना स्थल गोगर र प्रधानमन्त्री निवास बालुवाटारबीच श्रव्य दृश्यका माध्यमबाट जोडिएको छ ।

प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट ‘क्लिक’ गरेपछि आयोजनाको पहिलो युनिट सञ्चालनमा आएको छ । आयोजनामा ६ वटा युनिट छन् । नेपालको जलविद्युत् विकासको इतिहासमा नयाँ कोशेढुङ्गासमेत कायम भएको छ । स्वदेशी लगानीको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना निर्माण सुरु भएको झन्डै ११ वर्षपछि सम्पन्न भएको हो । प्राकृतिक विपद् तथा अन्य कारणले गर्दा आयोजना ढिलाइ हुन पुगेको हो । आज एउटा युनिट सञ्चालनमा आएको छ भने अन्य पाँच वटा युनिट क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् गृह रहेको दोलखाको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलव २ किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिएको छ । आयोजनाले शनिवार मात्रै ढल्केबरदेखि न्यु खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो । युएनएन र उर्जाखबरबाट