दमक / झापाको गौरादह नगरपालिका ९ स्थित बैगुन्धुरामा एकदिने वृहत स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । श्री अमर माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
न्यूरो हस्पिटल विराटनगर र गौरादह नगरपालिका वडा नं. ९ बैगुन्धुराको संयुक्त आयोजनामा आयोजित वृहत स्वास्थ्य शिविरमा ६ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । गौरादह नगरपालिका वडा नं. ९ बैगुन्धुरा स्वास्थ्य शिविर संचालन उपभोक्ता समिति, अन्र्तपार्टी महिला सञ्जाल, बैगुन्धुरा बचत तथा ऋण सहकारी संस्था र ज्येष्ठ नागरिक वडा समिति सहयोगी संस्था रहेका छन् ।
न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियलिटि हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा डा. विरेन्द्र विस्टको नेतृत्वमा आएको ४० जनाको टोलीले स्वस्थ्य परीक्षण गरेको थियो । शिविरमा न्यूरोलोजिस्ट, जनरल फिजिसियन, अर्थोपेडिक, डाइटिसियन, सुगर, प्रेसर, नसा, बालरोग, स्त्रीरोग, पेट, दन्त, इसिजि सेवा पाउनुको साथै औषधी समेत निशुल्क वितरण गरिएको छ ।
शिविर आयोजक समिति संयोजक वंशीराज सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुुख अतिथि तथा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले शिविरको उद्घाटन गर्दै गरिब विपन्न नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा दिन नगरपालिकाले सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । नगरबासीहरुलाई घर आँगनमै स्वास्थ्य सेवा दिन एक दिने शिविर सञ्चालन गरिएको वडा नं.९ का अध्यक्ष सीताराम भट्टराईले जानकारी गराए ।
त्यसैगरि स्वास्थ्य शिविरको अवसर पारेर बैगुन्धुरा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार शाखा बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदानमा १० महिला सहित २५ जनाले रक्तदान गरेका थिए ।
संकलन भएको २५ पिन्ट रगत बिर्तामोड रक्तसञ्चार शाखामा जम्मा गरिएको रेडक्रस शाखाले जनाएको छ ।