छविराज ढकाल
पथरिशनिश्चरे/ १२ वर्षमा त खोलो पनि फर्किन्छ भन्ने उखान सुनेका मोरङ कानेपोखरी ४ का छत्र बहादुर विश्वकर्मालाई उखान पत्याउनै मुस्किल परिरहेको छ । १२ बर्ष अघि वैदेशिक रोजगारका क्रममा मलेसिया जाँदा छोरो लाल बहादुर १९ बर्षका मात्रै थिए । अहिले ३१ बर्ष पुगे तर अझै घर फर्किएका छैनन । परिवारले उनका बारेमा खुट खबर नपाएको पनि १० बर्षै वित्यो । घरको साँझ – विहानको दैनिक गर्जो टार्न मुश्किल भएपछि १९ बर्षको कलिलो उमेरमै मेनपावरमार्फत् मलेसियाको जोहोरबारूस्थित जेसिवाइ कम्पनीमा रोजगार गर्न गएका थिए लाल बहादुर ।
। घरबाट परदेशीएको दुई बर्षसम्म त उनले आफ्नो परिवारसँग बाक्लो सम्पर्क हुन्थ्यो तर अहिले न फोन आउँछ न केही खबर – छत्रबहादुरको गुनासो छ ।
‘आज आउँछ कि भोलि पो आउँछ ? तर ऊ कहिले आएन । पर्खिदाँ –पर्खिदै बर्षौं बित्यो , आफुले चिनेको जति सबैलाई सोधींसँके । अहं, अत्तोपत्तो छैन । हामी त डाडां पारीको घाम भैंसकियो, चाँडै घर आइदिए हुन्थ्यो ।’ उनका बुबा र आमा दुवैको उस्तै आशय थियो ।
कलिलै उमेरमा तत्कालिन माओवादी जनमुक्ति सेनामा समेत केही बर्ष लागेका लाल बहादुर परिवारमा जेठो छोरो हुन् । २०६७ साल असार ८ गते घरबाट हिडेका उनको बारेमा कुनै अत्तोपत्तो नहुँदा आमा हरिमायाको आँखा सुकेका छन । छोरो कहाँ छस जहाँ भए पनि तेरो अनुहार हेर्न पाउने मेरो आशा मरेको छैन – हरिमाया भन्छिन । उनले छोरा लालबहादुरको खोजी गरिदिन देशविदेशमा भएका सबै नेपालीहरुमा अपिल पनि गरेकी छिन ।