दमक/दमक ५ मा सञ्चालित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा बिहिबार (आज) सम्पन्न भएको छ ।
गत भाद्र २८ देखि शुरु भएको बार्षिक साधारण सभा औपचारिक रुपमा आज समापन गरिएको हो ।

संस्थाको आफनै भवनमा अवस्थित सभाकक्षमा आयोजित साधारण सभा समापनका अवसरमा प्रमुख अतिथी दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङले दमकमा सञ्चालित सहकारी संस्थाहरु मध्ये ९० वटा सहकारी स्थानीय सरकारको नियमन भित्र पर्ने जानकारी दिए । आफनो नियमन भित्र पर्ने सहकारीका गतिबिधीहरुलाई स्थानीय सरकारले सुक्ष्म ढंगबाट नियालिरहेको चर्चा गर्दै उनले दमकमा कतिपय सहकारी संस्थाहरुले साधारण सभाको नाममा औपचारिकता मात्रै पूरा गर्ने गरेको दृष्टान्त उल्लेख गरे । सहकारीले ठगी गरेका कतिपय घटनाहरु बाहिर आउँदा सहकारीको मुल्य मान्यता र सिद्धान्त विपरीत कारोबार गरिरहेको समेत प्रष्ट भएको भन्दै नगरपालिकाद्धारा गठित सहकारी बोर्डका सदस्य समेत रहेका गुरुङले सर्वसाधारणमाथि ठगी गर्ने सहकारीलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिए । उनले कतिपय सहकारी संस्थाहरुको सदस्य संख्या र क्षेत्र विस्तारका आधारमा प्रदेश र संघीय सरकारको क्षेत्राधिकार भित्र पर्नेे भएकाले स्थानीय सरकारले चाहेर पनि कडाइँ गर्न नसकिरहेको बताउँदै पीडितहरुका गुनासाहरुको सम्बोधनका लागि माथिल्लो निकायमा पहल भइरहेको उनले बताए ।
संस्थाका अध्यक्ष दिपक खरेलको सभापतित्वमा भएको साधारण सभा समापनका अवसरमा यस अघि केरखा, सुरुङगा, विर्तामोड , बुद्धशान्तिमा सेवा केन्द्र स्थापना भइसकेकाले निकट भविष्यमा उर्लाबारीसहित अरु चार ठाउँमा सेवा केन्द्र सञ्चालनमा ल्याइने अध्यक्ष खरेलले जानकारी दिए । कोरोना महामारीका कारण सबै सेयर सदस्यहरुलाई एकठाउँमा जम्मा गरेर साधारण सभा गर्न नसकिएको जनाउँदै गत २८ गतेदेखिनै मुख्य कार्यालय दमकसहित सेवा केन्द्रहरुबाट बार्षिक प्रतिवेदन वितरण गरिएको उनले बताए । सदस्यहरुबाट प्राप्त सुझावलाई सञ्चालक समितिले टिपोट गरेर संशोधनसहित प्रतिवेदन पारित भएको संस्थाले जनाएको छ । संस्थाका व्यवस्थापक नवराज बास्तोलाका अनुसार गत असार मसान्त सम्म कूल शेयर पुँजी ६ करोड ६५ २२ हजार रुपैयाँ पुगेको उल्लेख छ । आर्थिक बर्ष २०७७/०७८ मा सो संस्थाले खुद नाफा ७७ लाख ६६ हजार रुपैयाँ कमाउन सफल भएको कमाउन सफल भएको पनि संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
